१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनताको बहुदलीय जनवादबारे उपप्रधानमन्त्री इश्वर पोखरेलको व्याख्या (पोखरेलकै शब्दमा)


१७ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले जनताको वहुदलीय जनवादबारेकाे एउटा व्यख्या सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन । नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले सहज रूपमा सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेकाे भन्दै अन्तरवार्ता दिएपछि तरंगित बनेको राजनीतिक माहोलमा अर्थपूर्ण तरिकाले उपप्रधानमन्त्री पोखरेलले जनताको वहुदलीय जनवाद बुझ्ने हो भने भन्दै एउटा व्यख्या प्रस्तुत गरेका छन ।

उनले भनेका छन ‘विगतमा “राजाको शासन भएकावेला” ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको औसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो , गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि । जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दैजान्छ पनि ।’

जनताको वहुदलीय जनवादबारे पोखरेलकै शब्दमा तल पढ्नुहोस्

जनताको वहुदलीय जनवाद बुझ्ने हो भनेबारे:
—————————————————–
जनताको बहुदलीय जनवाद -यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । नत यो अत्यन्त आदर गरिएका दिवंगत नेताको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो – जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशा निर्देश गर्ने विचार पनि हो । यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ ।

जबज को जन्म जडतामा जकडिएर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर ,अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । विगतमा “राजाको शासन भएकावेला” ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको औसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो , गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि । जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दैजान्छ पनि । जनताको वहुदलीय जनवादले जनवादी राज्यसत्ताको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण, पार्टीको लोकतान्त्रिकरण र समग्र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण सम्वन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ ।

सेवा , संघर्ष,प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नु पर्छ भन्ने मान्यता राख्छ जनताको वहुदलीय जनवादले । ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं’ भन्दै विकसित र स्थापित विचारका विरूद्धमा अन्यथा नबुझ्नु – नबोल्नु राम्रो !!

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार २०:२३