१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङमा बृहत् योग शिविर शुरु


११ जेठ, काठमाडाैँ । दाङको तुलसीपुरमा बृहत् योग विज्ञान शिविर शुरु भएको छ । आजदेखि शुरु भएको योग शिविर पाँच दिनसम्म चल्ने छ । सबै नागरिकलाई योगमा आबद्ध गराउनुका साथै योगसम्बन्धी विचार र दर्शनका बारेमा जानकारी दिन तुलसीपुर  पमहानगरपालिकाको आयोजनामा शिविर सञ्चालनमा आएको हो । विकास र समृद्धिका लागि मानिस स्वस्थ हुनुपर्ने र मानिस स्वस्थ बन्नका लागि योग अपरिहार्य भएको भन्दै शिविरको आयोजना गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

“मानिस स्वस्थ हुन योग अपरिहार्य भएकाले सबै नागरिकलाई यसबारे जानकारी दिन शिविर गरेका हौँ”, उहाँले भन्नुभयो । बिहान ४ बजेदेखि ६ बजेसम्म पाँच दिनसम्म योग शिविर हुनेछ । पतञ्जलि योग समिति दाङको समन्वयमा १५ गतेसम्म चल्ने छ शिविरमा समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण दिनुहुनेछ । शिविरको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुभारम्भ गर्नुभएको थियो । त्यस अवसरमा उहाँले योगलाई गाउँ–गाउँसम्म पु¥याउनु पर्ने बताउनुभयो ।

योगमा पहिलो दिन एक हजारभन्दा बढी नागरिकको सहभागिता थियो । तुलसीपुरको अरणीको मैदानमा भएको योग शिविरमा सहभागी धेरै रहे पनि व्यवस्थापन भने प्रभावकारी नभएको सहभागीले गुनासो गरेका छन् । “योग गर्दा सुत्नु पर्छ, उफ्रिनु पर्छ, त्यसका लागि पर्याप्त ठाउँ चाहिन्छ”, सहभागी बालिका केसीले भन्नुभयो, “तर यहाँ पर्याप्त ठाउँ नहुँदा योग गर्न समस्या हुने गरेको छ ।”

पछिल्लो समय दाङमा योग गर्नेको सङ्ख्या बढेको छ । दैनिक १० हजार बढीले योग गर्ने गरेको पतञ्जलि समिति प्रदेश नं ५ का प्रभारी प्रेम शाहले बताउनुभयो । दाङमा दैनिक १३६ कक्षा सञ्चालन भइरहेको छन् । जसबाट दाङबाट १० हजारले योग गर्ने गरेका छन् । उहाँका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनुभएको भन्दै यो सबै योगबाट प्राप्त हुने समेत बताउनुुभयो । योग अभ्यासले क्यान्सर, मधुमेह, बाथरोग, उच्च रक्तचाप, दम, ढाड दुख्ने, मानसिक तनाव, मोटोपन, अम्लपित्त, कब्जियतजस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निको हुन सहयोग गर्ने भन्दै पछिल्लो समय आकर्षण बढिरहेको बताइएको छ । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार १०:१९