१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वैदेशिक रोजगारीका लागि लिविया पुगी अलपत्र परेका १५ नेपालीकाे शान्ति सेनाले गर्याे उद्धार


६ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि लिविया पुगी अलपत्र परेका १५ नेपालीकाे शान्ति सेनाले उद्धार गरेकाे छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

लिवियाको सुरक्षा निकाय तथा आईओएन र ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेनासँगकाे समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।

उद्दार हुनेहरूमा गणेश थापा मगर, सनम विश्वकर्मा, पूर्णबहादुर गुरुङ, जयराम धामी, अमृत गुरुङ, भुवन आचार्य, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, जयराम धामी, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, अजय कुमार चौधरी, प्रकाश विश्कर्मा र मनोहर कार्की रहेकाे दुतावसले जनाएकाे छ ।

उनीहरु कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।अहिले क्याम्पमा रहेका १५ जनालाई आईओएमले खान र बस्नको व्यवस्था मिलाउनुका साथै हवाइ टिकटको समेत व्यवस्था मिलाइदिने भएको छ ।

लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ । सरकार समर्थित सैनिक र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तार समर्थित सैनिकबीच चलिरहेको भिषण युद्धका कारण सयौंको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १३:४७