१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दक्षिणाको लोभमा जनतालाई भ्रममा पार्ने बकवास नगर्न प्रधानमन्त्री ओलीको आग्रह


७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै जनतालाई भ्रममा पार्ने काम नगर्न सुझाव दिनुभएको छ । ऐतिहासिक जितगढीमा आज आयोजित विजयोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै भ्रममा नपर्न सवैमा अपिल गर्नुभयो । ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनु पर्यो भन्न थालेका छन तर, कोही भ्रममा पर्नेवाला छैनन,’ भ्रम छर्दै हिडेका ज्योतिषीलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक बनाउने काममा लाग्न राप्रपासँगै नेत्रबिक्रम चन्द (विप्लव) समूहलाई आग्रह गर्नुभयो । राप्रपाले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको उहाँको भनाई थियो । बिप्लव सुमहमाथि भने उहाँले कडा प्रहार गर्नुभयो । ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन, संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले मुलुकले सुशासन र विकासको बाटो समातेको तथ्य पनि राख्नुभयो । बिकासले गति लिएकोले अब अल्मलिन नसकिने बटमलाइनसमेत प्रधानमन्त्री ओलीले सुनाउनु भयो । ‘बिकासले गति लिएको छ, अब उटपट्याङ कुरामा अल्मलिन सकिन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको प्रष्ट पार्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा त्यत्तिकै अघि नसारिएको प्रष्ट पार्नुभयो । ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनु पर्यो भन्न थालेका छन तर, कोही भ्रममा पर्नेवाला छैनन,’ भ्रम छर्दै हिडेका ज्योतिषीलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने बताउनु भयो ।कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांण, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा स्थल र पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने बताउनु भयो । सो कामका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा पनि उहाँहरुले जोड दिनुभएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १७:४१