१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यात्रुहरुको अपमान र चरित्रहत्यामा बुद्ध एयरको कीर्तिमानी (भिडियोसहित)


६ बैशाख, काठमाडाैँ ।  कुनै पनि सेवाप्रदायक कम्पनी आफ्नो सेवाग्राहीप्रति जिम्मेवार रहनुपर्छ । तर, नेपालको ठुलो मध्येको एक जिम्मेवार हवाईसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नै सेवाग्राही अर्थात् यात्रुहरुको अपमान र चरित्रहत्या हुने गरी प्रचार बाजीमा गरेका छन् ।

बुद्ध एयर यात्रुहरुको असन्तुष्टी अथवा भनाईलाई सुझावको रुपमा लिएर सुधार गर्नुको साटो उल्टै यात्रुको नै अपमान हुने गरी सार्वजनिक प्रचारबाजीमा उत्रिएको छ । जसको कारण यात्रुका रुपमा सेवा लिएका सावर्जनिक पदमा रहेका जिम्मेवार व्यत्तिहरु नै ‘प्रोपोगान्डा’को शिकार भएका छन् ।

घटना नम्बर : १
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा झापा क्षेत्र न.४ बाट निर्वाचित सांसद एलपि साँवा लिम्बू २६ चैत २०७५ मा काठमाडौंबाट झापाको भद्रपुर उड्दै थिए । अपरान्ह ४ : ३० को उडानबाट परिवार सहित झापा जादै थिए । उनका सहयोगी सिकिन पासवान झापामा नै भएको कारण उनी आफै लामो लाइनमा बसेर ४ वटा जहाजको बोर्डिङ्ग पाश लिए ।

बोर्डिङ्ग काउन्टरले ३ जनाको टिकट ७ औं लाइनमा दियो । एउटा भने ‘एनी सिट’ लेखिएको बोर्डिङ्ग पाश दिइयो । सांसद लिम्बू त्यही टिकट लिएर खाली रहेको १८ औं सिटमा गएर बसे । कुन यात्रु कुन सिटमा बसेको छ ? त्यो चेकजाँच जहाज उड्न अगावै हुनुपर्ने थियो । तर, भएन । जहाज उडीसकेपछि एयर होस्टेजले ‘तपाईको सिट कुन हो ?’ भन्दै सोधिन् ।

टिकट माग्दै सार्वजनिक रुपमा अपमान हुने गरी उठाएर ‘तपाई त्यहाँ गएर बस्नुहोस्’ भनेपछि सांसद लिम्बूले आफूलाई उठाउनु पर्ने कारण बारे जिज्ञाशा राखे । सिटमा बसीरहेका यात्रुलाई होच्चाउने गरी एयरहोस्टेजले बोलेपछि सांसद लिम्बूले पनि प्रतिवाद गरे । घटना बारेमा भन्छन्,‘जहाजमा बसिरहेको यात्रुलाई जहाज उडिसकेपछि होच्चाएर बोलेपछि प्रतिवाद गरेको मात्रै हो ।’

सांसद लिम्बूले यसलाई सामन्य संवादको रुपमा मात्रै लिएका थिए । तर, सांसद त्यतिबेला अचम्भित भए जतिबेला उनी बुद्ध एयरमा बसेको त्यही दिनको तस्बिर राखेर चरित्रहत्या हुने गरी समाचार बिभिन्न सञ्चार माध्यममा आयो । स्रोतका अनुसार जहाजमा रहेका बुद्ध एयरकै कर्मचारीले त्यो सामान्य संवाद र तस्बिर सार्वजनिक खपतका लागि उपलब्ध गराएका थिए ।

बुद्ध एयरले नै लिम्बू बिरुद्ध समाचार लेख्न ‘लबिङ्ग’ समेत गरेका थिए । सांसद लिम्बू बिरुद्ध सामाजिक सञ्जाल र सञ्चार माध्यममा यतिधेरै प्रचार भयो मानौं उनले कुनै ठुलो गल्ती गरे । सामन्य बिषयलाई प्रचारबाजी गरेर आफू बिरुद्ध अभियान चलाएको देख्दा दुःख लागेको उनले बताए । उनले भने, ‘यात्रुलाई जहाजमा अपमान गर्ने अनि त्यही बिषयलाई लिएर प्रचारबाजी गरिनु गति सही हो या गलत त्यो सम्बन्धित निकायले जान्ने बिषय हो ।’

घटना नम्बर : २
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १ वैशाख २०७६ प्यूठानको गौमुखीमा आयोजित प्रदेशस्तरीय मिडिया सम्मेलन उद्घाटनमा गएका थिए । मन्त्री बाँस्कोटाको वैशाख २ गते साँझ ५ः३० बजे भैरहवाबाट काठमाडौंतर्फ उडानको टिकट थियो ।

मन्त्री बाँस्कोटासँगै रहेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार प्युठानको अर्खाक ठूलाचौरबाट १२ : २५ बजे बीच कार्यक्रमबाटै बिदावारी भएर मन्त्री बाँस्कोटाको टोली भैरहवा तर्फ हिडे । थापा भन्छन्, ‘त्यहाँबाट भालुबाङ घुम्दा प्लेन छुट्नसक्ने हुँदा निर्धारित रूटसमेत परिवर्तन गरी अग्लुङ–बाझकटेरी–म्यालपोखरी–पुर्कोटदह–सौतामारे–रतनमारे–सन्धिखर्क–गोरूसिंगे–लुम्बिनी हुँदै ६ : १५ बजे टोली भैरहवा एयरपोर्ट पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य यस यात्रामा सँगसगै हुनुन्थ्यो ।’

भैरहवा एयरपोर्टमा पुगुञ्जेल काठमाडौंको खराब मौसमका कारण मेरो टिकट रहेको यति एयरको भैरहवा उडान नहुने घोषणा भइसकेको थियो । बुद्ध एयरको उडान पनि नहुने भनिए पनि घोषणाचाहि गरिएको थिएन ।

काठमाडौंबाट जहाज उडान नहुने अवस्थामा भैरहवामा होटल खोज्नु अनिवार्य हुन्थ्यो । त्यसकारण सञ्चार मन्त्रीको टोली सिडिओ कार्यालयसँग पूर्ण समन्वय गरी टिकुलीगडस्थित होटलमा पुगेर कोठा बुक गर्न लाग्यो । तर, कोठामा नपुग्दै बुद्ध एयरको जहाज आउने र उडान गर्ने भएको खबर आयो । अनि, हतारहतार लबीबाटै टोली एयरपोर्टतर्फ लागिहालेको थियो । तर २ किमी नजिकै पुगेको अवस्थामा जहाज काठमाडौतर्फ उड्यो भन्ने जानकारी प्रशासनमार्फत आयो । अनि मन्त्री बाँस्कोटा पुनः होटलतर्फ लागे ।

मन्त्रीले जहाज रोकेर पर्खिन भनेका थिएनन् । भोलीपल्ट बिहान बुद्ध एयरको भैरहवा स्टेसन प्रमुखलाई नागरिक उड्डयन कार्यालय प्रमुखकै उपस्थितिमा स्वयं सञ्चारमन्त्रीले समयमा किन सूचना नगरेको भनी सोध्दा प्रहरीको सईले मन्त्रीज्यूको टोली होटलमा गइसकेको र भोलि जाने भनेको भनी झुट बोलेका थिए ।

घटना बारे प्रत्यक्षदर्शी नेता थापा भन्छन्, ‘मन्त्रीको पिएसओ साथै थिए, उनलाई केही खबर आएको होइन । त्यहाँ बुद्ध एयरका स्टेसन प्मुख नाजवाफ र लज्जित भएर आशिष्टतापूर्वक बीचमै उठेर हिडेको त म स्वयंले देखेको हुँ । यस्तो यथार्थलाई ढाकछोप गर्न ६८ जना यात्रुको हितमा सञ्चारमन्त्रीलाई ३०÷३५ मिनेट नकुरेको भनी १०० प्रतिशत झूठो वक्तव्यबाजी गर्नु त दिउँसै रात पार्न खोजेकोजस्तो मात्र हो । यो बुद्ध एयरको गैरव्यवसायिक व्यवहार र जवाफदेही हुन नखोज्ने मनोमानीपूर्ण रवैयाको पराकाष्टा मात्र हो ।’

अघिल्लो दिन बुद्ध एयरले टोलीलाई छोडेको थियो । तर, मन्त्रीलाई भैरहवामा छाडेर हिड्ने बुद्ध एयरको व्यवस्थापनले भोलीपल्ट १ सिट मात्रै दिनसक्ने भनेर उत्तर दियो ।बुद्ध एयरले यात्रुलाई छोड्यो । भोली टिकट समेत दिएन । यो त नयाँ भएन । बुद्ध एयरले गल्ती स्वीकार गरेर यात्रुलाई माफी माग्नु पर्ने थियो । तर, उल्टै मन्त्रीको अपमान मात्रै होइन चरित्र हत्या गर्ने विज्ञप्ति जारी गर्यो । बुद्ध एयरको विज्ञप्तिपछि सञ्चार मन्त्री बाँस्कोटा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आलोचनाको शिकार बने । बुद्ध एयरले विज्ञप्ति मात्रै जारी गरेन सञ्चार माध्यमहरुलाई यो विज्ञप्तिलाई महत्वको साथ समाचार बनाउन लबिङ्ग समेत गरे ।

नीजि सञ्चार माध्यमले त बनायो नै, मन्त्री बिरुद्ध निकालिएको प्रायोजित विज्ञप्तिको समाचार सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिले समेत बनायो ।मन्त्री बाँस्कोटाले वुटवलमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरले छोडेको बिषयमा बोलेका थिए । उनले बिषयको रुपमा नभई पत्रकारहरुले विना योजना रुपन्देहीमा बसेकोप्रति चासो राखेपछि यो प्रसङ्ग बताएका थिए । बिना योजना रुपन्देही बस्नुपरेको प्रशंग कोट्याएका मन्त्री बाँस्कोटाले यसलाई समाचारको विषय बनाउनैपर्ने नभएको बताएका थिए ।

सोही दिन काठमाडौं फर्किने तालिका बनाएका मन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनका लागि समय मागेका थिए । तर, समय नभएपछि पत्रकार सम्मेलन नहुने बताइएको थियो । जहाजले छोडेपछि पत्रकार सम्मेलन आयोजना भएको थियो । त्यही प्रसङ्गमा मन्त्रीले बुद्ध एयरको बारेमा बोलेका थिए ।

सधैं अपमान
तुलनात्मक रुपमा बुद्ध एयरलाई सुरक्षित एयरको रुपमा लिइन्छ । यही बलियो पक्षलाई हतियार बनाएर बुद्ध एयरले यात्रु माथि भने सधैं अपमान गर्ने गरेका छन् । उडान तालिका सधैं गडबड हुने गरेको छ । बुद्ध एयरले यात्रुलाई अपमानित गरेर एयरपोर्टबाट फर्काएका बिभिन्न भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ । नयाँपेजबाट

यो पनि पढ्नुहोस्

–बुद्ध एयरले झुट बोल्यो, सञ्चारमन्त्री बाँस्कोटाबारे यस्तो रहेछ वास्तविकता (प्रत्यक्षदर्शीको वयान)

–बुद्ध एयरको सेवामा चरम लापरवाही, यात्रुको पीडा यसरी पोखियो सामाजिक सञ्जालमा

–बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबालाई बुद्ध एयरमा यात्रा गर्न किन प्रतिबन्ध ?

–बुद्ध एयरले धाेका दियाे, यात्रुकाे विचल्ली

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार २१:५९