१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीमानको ‘भाडा नलाग्ने कोठा’ र श्रीमतिको ‘अस्वीकृत शालिनता’सँगै सिन्दुर, यस्तो पो बिबाह


६ वैशाख, काठमाडाैँ । बिहीबार राष्ट्रिय नाचघरमा एउटा फरक दृश्य देखियो । दुई साहित्यकार बलराम दाहाल र भैरवी ढुंगानाले कृति विमोचन कार्यक्रममै बिबाहको काम पनि सके । दाहालको कविता संग्रह ‘भाडा नलाग्ने कोठा’ र ढुंगानाको ‘अस्वीकृत शालिनता’ लोकार्पणसँगै दुबैले बैबाहिक जीवनमा बाँधिएको घोषणा गरे । झण्डै एक दशकदेखि प्रेम सम्बन्धमा रहेका कविद्धयले जुनखालको बैबाहिक कार्यक्रम प्रस्तुत गरे धेरैले त्यसको प्रशंशा गरे ।

झण्डै एक हजार पाँच सय मानिसहरू सहभागी भएको कृति लोकार्पण र बैबाहिक समारोहमा दान दक्षिणा सबै प्रतिबन्ध थियो । खाजाको रूपमा पनि एउटा जेरी, समोसा र जुस रहेको थियो । बिबाहको अर्को रोचक पक्ष के थियो पुस्तक बिक्री । दाइजो प्रतिबन्धित बिबाहमा दुबैको कृति किन्न प्रोत्साहन गरिएको थियो र धेरैले पुस्तक किने पनि । कृति विमोचन समारोहमै सञ्चालको अनुरोधमा दुबैले स्वयंबर गरे, माला साटासाट गरे । बलराम र भैरवीको बिबाह धेरैलाइ सरप्राइज थियो भने केहीलाइ जानकारी थियो ।

समारोहमा सत्यमोहन जोशी, पूर्वमन्त्रीद्वय महेन्द्र पाण्डेय र आनन्द पोखरेल,  प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. राजेन्द्र सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रतिष्ठानका सदस्यसचिव जगत प्रेक्षित, सांसद जीपछिरिङ लामालगायतले दाम्पत्य जीवनको शुभकामना व्यक्त गरे ।

शुभकामना लगत्तै सिन्दुर पोतेको काम भयो । दाहाल दोलखाका हुन भने भैरबी नुवाकोटकी हुन ।  शिखा बुक्सले प्रकाशन गरेका कृतिमा डा. शैलेन्दुप्रकाश नेपाल र प्रभाती किरणले समीक्षा गरेका थिए । धेरैले उदाहरणीय बिबाह न मण्डप न तामझाम । यस्तो पो बिबाह भन्दै प्रतिक्रिया जनाइरहेका थिए । उनीहरूको यो बिबाह भड्किलाे बैबाहिक प्रवृतिमाथि एउटा मीठाे झापड समेत हो । दुबैलाइ दामपत्य जीवनको शुभकामना पनि ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०८:०५