१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरीदिन क्याम्पस प्रमुख प्रहरी कार्यालयमा


५ वैशाख, नुवाकोट । भ्रष्टाचारको आरोपमा नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेको केही घण्टामै प्रमुख नारायणमान डंगोल प्रहरीकोमा पुगेका छन । प्रहरीलाइ किटानी जाहेरी दिँदै प्रमुख डंगोलले कालोमोसो दल्ने र जुत्ताको माला लगाउने विद्यर्थीलाइ कारबाही गर्न माग गरेका छन । नुवाकोटका प्रहरी प्रमुखले क्याम्पस प्रमुखको किटानी जाहेरीमा कानुन बमोजिम कारबाही गर्न भन्दै तोक लगाइदिएका छन ।

अनेरास्ववियु र अनेरास्ववियु समर्थित विद्यार्थीको समूहले बिहीबार बिहान क्याम्पस प्रमुख डंगोलको अनुहारमा कालोमोसो दलिदिएका थिए । तर प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दिएको जाहेरीमा क्याम्पस प्रमुखले जुत्ताको माला समेत थपेका छन । उनले अनेरास्ववियु क्याम्प किमिटीका अध्यक्ष विष्णुहरि रिमाल, अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष राजेन्द्र अधिकारी, अनिश प्याकुरेल र रिजन प्रधानको नाममा किटानी जाहेरी नै दिएका छन ।

डंगोलले क्याम्पसमा भ्रष्टाचार गरेकाे भन्दै विद्यार्थीहरूले चरणवद्ध आन्दोलन गर्दै आएका छन । पछिल्लो सयम डंगोलले कांग्रेसको इशारामा स्ववियुको निर्वाचन रोकेको भन्दै विद्यार्थीहरू थप आक्रोशित बनेका छन । स्ववियु निर्वाचन रोकेपछि क्याम्पस प्रमुख र अध्यक्षलाई क्याम्पस प्रवेशमै निषेधको सूचना राखेर बसेका विद्यार्थीले बिहीबार कालोमोसो दलेको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले दैनिकीलाई जानकारी दिए ।

अध्यक्ष रिमालले माग सम्बोधन नहुँदासम्म बिरोध जारी रहने बताए । उनले भने ‘क्याम्पसको शैक्षिक वातारण समेत विगारेर क्याम्पस प्रमुख र नेतृत्वको भ्रष्टाचार र अनियमितताको खेलमामात्रै केन्द्रीत भए, हामीले विद्यार्थीको माग सम्बोधन नगरी क्यम्पस प्रवेश नगर्न अनुरोध गरेका थियौँ । उहाँले जवर्जस्ती गर्नुभो त्यसपछि हामीले विद्यार्थीहरूको तर्फबाट कालोमोसो दलेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयमा तोक लागेको नारायणमान डंगोलको उजुरी ।
जिल्ला प्रहरी कार्यालयमा तोक लागेको नारायणमान डंगोलको उजुरी ।
जिल्ला प्रहरी कार्यालयमा तोक लागेको नारायणमान डंगोलको उजुरी ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १३:४५