१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महाभारत पर्वतको चुचुरोमा राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्गको घोषणा


२ वैशाख, धादिङ । महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।

पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साथ तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो । मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले बताउनुभयो ।

ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान सार्थक बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।’

आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस अघि हिमाली क्षेत्र मात्र थियो, महाभारत क्षेत्र पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको संभावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठुलो भूमिका खेल्छ ।’ पाँच वटा स्थानीयतहलाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारसंग यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताउनुभयो । उहाँले विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २३:१२