१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एक प्रदेश एक मेडिकल कलेज कार्यान्वयनमा, प्रदेश ५ को कलेज प्रधानमन्त्रीले आज शिलान्यास गर्दै


८ चैत, काठमाडाैँ । सरकारले एक प्रदेश एक सरकारी मेडिकलेजको अवधारणा कार्यान्वयनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले यही अवधारणा अन्तर्गतको सरकारी मेडिकल कलेजको शुक्रबार रूपन्देहीमा शिलान्यास गर्दैछन । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारी मेडिकल कलेजका लागि स्थापना भएको आयोजना कार्यालयको उद्घाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार ओलीले शिलान्यास गर्दैछन् ।

तिलोत्तमा नगरपालिका वडा नंं १ नयाँमिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला–ठूला भवन बन्ने छन् । उद्घाटन र शिलान्यास समारोहमा उपस्थित भैदिन भन्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नाममा निमन्त्रणा बाँडिएको छ ।

यसअघि गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान अहिले छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १०:३५