Logo

मिर्गौला रोगबाट यसरी बच्नुहोस्, २४ वर्षमै मिर्गौला फेल भएका हिमालय तिवारीको सुझाव



–हिमालय तिवारी

त्यस बेला म २२ बर्षको थिएँ । विसं २०६१ सालमा मेरो मिर्गौलामा समस्या देखा परेको हो । शुरुमा मेरो जोर्नी सामान्य रुपमा दुखे जस्तो भयो । म त्यसबेला माडी बगौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिएँ । भरतपुर आएर पिसाव लगायत आवश्यक परीक्षण गराएँ । परीक्षणमा युरिक एसिड बढी रहेछ । क्रियटिनिन हेरियो नर्मल थियो । र पिसावमा एलविन गएको रहेछ ।

त्यसपछि काठमाडौँ आएँ । शुरुमा डा ऋषिकुमार काफ्लेसंग उपचार गराएँ । त्यसपछि औषधि खान त थालियो तर पनि मेरो २०६४ साल प्रत्यारोपणमा जानुपर्ने अवस्थामा पुग्यो । तर भाग्यवस मैले डायलासिसको अनुभव गर्नुपरेन । मेरो विना डायलासिस प्रत्यारोपण भएको हो । किड्नीले १०-१५ प्रतिशत काम गर्दा गर्दै मैले प्रत्यारोपण गराएँ ।

त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । प्रत्यारोपणका लागि भारत नै जानुपर्दथ्यो । त्यो बेलामा हामी यहाँबाट लखनउ गयौँ । त्यहाँ म जस्ता थुप्रे नेपालीहरु थिएँ । तर त्यहाँ नेपालीहरुलाई हेर्ने दृष्टिकोण नै अलि फरक हुन्थ्यो । व्यवहार नै फरक हुन्थ्यो । लाइन लागेर डाक्टरसम्म त पुगिन्थ्यो तर नेपाली भन्नासाथ त्यति ध्यान दिएको पाइदैनथ्यो । अझ मेरो डायलासिस नै गरेको छैन भनेपछि त अरु रिपोर्ट नै नहेरी डायलासिस विना किन प्रत्यारोपण गर्ने भन्ने प्रश्न गर्दथे । यसले मलाई झन झन तनाव थप्दथ्यो ।

त्यसबेला मेरो उपचारमा आमा बाबा श्रीमती काका सहित भारतमा थियौँ । तर पनि हामी नेपाली भनेपछि ठगिने रहेछ । लखनउको उपचार चित्त बुझेन । त्यसपछि विभिन्न साथीहरुसंग सम्पर्क गरेपछि साउथ इन्डियामा डाक्टर विवेक पाठक ले राम्रो गर्छन भन्ने सुनियो । त्यसपछि त्यतै हानियो । तमिल नाडुको क्वयंवाटुर भन्ने ठाँउमा गयौँ । डाक्टर विवेकसंग कुरा गर्दा राम्रो लाग्यो । मलाई चाँडो आएर असाध्य राम्रो गरयौँ भन्नुभयो । डायलासिस नगरीकन प्रत्यारोपण गर्दा असाध्य राम्रो हुन्छ भन्नुभयो । म त्यहाँ पुगेको ८ दिनमा मेरो मिर्गौला प्रत्यारोपण भयो । मलाई आमाले नै मिर्गौला दिनुभएको हो ।

भारत जानै परेपछि राम्रै ठाँउमा जाँउ भन्ने लाग्यो । क्वयंवाटुरको कुवाई मेडिकल सेन्टर राम्रो छ भनेपछि त्यहि गएको हुँ । मलाई त्यो राम्रो पनि लाग्यो । तर असाध्यै समस्या भाषाको देखियो । हिन्दी नचल्ने रहेछ, अंग्रेजी पनि सबैले नबोल्ने । बोल्ने तमिलभाषा मात्रै त्यसैले हामीलाई केही समस्या भयो । यद्धपी संकेत गरीवरी काम चलाउथ्यौँ ।

भारतका अरु ठाँउमा भन्दा त्यहाँ कम ठगियौँ तर स साना कुरामा ठगिएका हुन्थ्यौँ । एक मुठा साग किन्न जाँदा अर्को व्यक्तिले १० रुपयाँमा पाउथ्यो भने हामीले त्यसलाई २० रुपैयाँ हाल्नुपदथ्यो ।

मेरो उपचारमा स्वास्थ्यकर्मी साथीहरुले भरपुर सहयोग गर्नुभयो । त्यस्तै माडीका स्थानीय राजनीतिक दलले समेत सहयोग गरे । यो गुन मैले कहिले विर्सन्न ।  प्रत्यारोपण पछि ३ महिना अनिवार्यरुपमा बस्नुपर्ने थियो तर म चार महिना बस्नुपरयो । किनकी मलाई बीचमा केही समस्या बल्झिएजस्तो संकेत आयो । समयमै उपचार गरी त्यो सम्भावना टर्यो।

बर्षमा एक पटक तमिलनाडु जान्छु
मिर्गौला फलोअपका लागि अहिले पनि म बर्षमा एक पटक तमिलनाडु जान्छु । अरु बेला यहि डा अनिल बरालसंग परीक्षण गराउँछु । मिर्गौलाको उपचारका लागि सरकारले सुविधा त दिएको छ । तर औषधि र अरु खर्च धान्न सर्वसाधारणलाई समस्या नै हुन्छ । त्यसबेला टन्सिलको सही उपचार नहुँदा यो दुख पाइएको भन्ने लागेको छ ।

प्रत्यारोपण गरेका व्यक्तिले के के कुरामा ध्यान दिने ?
मिर्गौला प्रत्यारोपण गरिसकेपछि यसलाई जोगाउन औषधि खानुपर्छ । इम्युन्यो सप्रेटिभ औषधि खानुपर्छ । किनभने यो हाम्रो शरीरले एउटा सानो काडा विज्यो भने त्यो पाक्छ र निकाल्छ । अब हाम्रो शरीरमा अर्कैको किडनी राख्दा त्यसलाई हाम्रो शरीरले चिन्दैन । नचिनी सकेपछि त्यसलाई मार्नको निम्तिी एन्टीबोडीहरु उत्पादन गर्दछ । त्यसलाई कम गर्न अथवा रोगप्रतिरोधी क्षमता घटाउनका लागि हामीले त्यसखालका औषधि खानुपर्छ ।

त्यसबाहेक खानपानमा विशेष ध्यान दिनुपर्छ । खानेकुरामा ताजा खानुपरयो, बासी चिज खानु भएन । पकाएको खाना ४ घण्टा भित्र खाईसक्नुपर्छ । हाइजेनिक खानेकुरा खानुपरयो । औषधि खाँदा पनि ध्यान दिनुपर्छ । अरु कारणले औषधि खानुपरेपनि सम्वन्धीत डाक्टरलाई नसोधी खानु भएन ।

मिर्गौला फेल भएकाहरुलाई कसरी बचाउँने ?
मिर्गौला विविध कारणले विग्रन्छ । प्रेसर, सुगर, विभिन्न इन्फेक्सनहरुले पनि बिग्रन्छ । कारण नै पत्ता नलागी बिग्रनेको संख्या ठूलो छ । नेपालमा प्रत्येक बर्ष मिर्गौला फेल हुने १० हजार बढी नयाँ विरामी हुने गरेको अनुमान छ ।

ती मध्ये तीन हजार मात्रै अस्पतालको पहुँचमा पुग्न सक्छन् । ती मध्ये १ हजार बढीको प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । अधिकांश चाही डायलासिस र प्रत्यारोपण गर्न नसकेर मृत्यु हुन्छ ।

सरकारले डायलासिस र प्रत्यारोपण निशुल्क त गरेको छ । तर गाँउका मानिसहरु शहरमा आउनुपरयो । अरु विविध खर्च लाग्छ नै । समस्या त पर्छ नै ।

परिवारकै अंगदाता भएपनि उसको टाउको देखि खुट्टासम्म अर्थात सबै अंग स्वस्थ हुनुपर्छ । कतिपयले अंग दिन चाहेर पनि त्यो पाइराखेका हुँदैनन् । स्वस्थ नभएका कारण । कतिपयको म्याच हुँदैन ।

परिवारमा डोनर नभएपछि उसको विकल्प भनेको आजिवन डायलासिस नै हो । त्यसैले त्यस्ता व्यक्तिका लागि प्रत्यारोपण गर्ने बैकल्पिक व्यवस्था मिलाउनु पर्ने जरुरी देखिन्छ ।

कसरी बढाउने मिर्गौला प्रत्यारोपणको पहुँच ?
नेपालमा अंग प्रत्यारोपण सम्वन्धी कानुन बनिसकेको अवस्था छ । अब मस्तिस्क मृत्यु भईसकेका व्यक्तिबाट अंग लिन सकिन्छ । उपत्यकाका अस्पतालमा मात्रै १ हजार बढीको मृत्यु मस्तिस्क मृत्युबाट हुने गरेको तथ्यांक छ । तर अंगदान गर्नेको संख्या लगभग छैन भन्दा हुन्छ । यसो किन भयो भने जनचेतनाको कमीको कारणले ।

त्यसैले अव प्रत्यारोपण गर्ने अस्पतालले बढी मस्तिस्क मृत्यु हुने अस्पतालहरुमा हेल्प डेस्क स्थापना गर्नुपरयो । अंग फेल भएको थाह पाउनासाथ त्यसबारेमा परिवारका सदस्यहरुलाई कन्भिन्स गर्नुपरयो । यो सहज काम होइन तर असम्भव पनि होइन ।

कतिपय देशमा परिवार बाहेकका कोही हितैसी मित्रले पनि अंगदान दिन सक्ने व्यवस्था छ । त्यो नेपालको कानुनमा छैन जस्तो लाग्छ । त्यो बुँदा थप्नुपर्छ जस्तो लाग्छ ।

नेपालमा मरणोपरान्त अंगदान दिन जो सुकैलाई छुट छ । तर जीउँदो हुँदै परिवार र नाताले भेटेका बाहेक अरुलाई अंगदान गर्न मिल्दैन । विदेशमा चाही म अंगदान गर्न चाहन्छु भनेर जीउदो छदैँ । आवश्यक पर्ने व्यक्तिलाई अंगदान गर्ने पाउने व्यवस्था छ । त्यो पद्धतीको बारेमा पनि सोच्ने कि ? त्यसो भयो भने अंग फेल भएर जो मृत्यु हुने दर छ त्यसमा कमी आउथ्यो कि ?

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १०:५७
प्रतिक्रिया दिनुहोस्