१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गणेश पण्डित : शिक्षकहरूको प्रिय नेता, विद्यार्थीहरूको असल गुरु र कर्तव्यनिष्ट व्यक्ति


–जीवन प्रकाश शर्मा

स्वर्गीय गणेश पण्डित सँग मेरो भेटघाट ४० वर्ष अघि काठमाडौँमा भएको थियो । त्रिचन्द्र क्याम्पस बाट स्नातक तह उत्तिर्ण गरेपछि भएको उहाँसँगको भेटघाट पछि उहाँले आफु प्रध्यानाध्यापक भई कार्यरत रहेको शैक्षिक संस्था अमरज्योती माध्यामीक विद्यालय, खरानीटार, नुवाकोटमा अंग्रेजी शिक्षकको रूपमा अध्यापन गराउन लग्ने प्रस्ताव गर्नुभयो । सोही क्रममा म सँगै श्रीभद्र न्यौपाने, हरीराज पौडेल, अष्टदेव खनाल, चन्द्रकान्त पौडेल, रवीकिरण निर्जीव, महेश्वर उपाध्याय, रामकृष्ण रेग्मी, पिताम्बर भण्डारी लगायतका मित्रहरूलाई पनि उहाँले नुवाकोट जिल्लाका माध्यामिक विद्यालयहरूमा शिक्षकको रूपमा नियुक्ति गरी त्यहाँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा आफूलाई अभ्यस्त गराउनु भयो ।

ज्ञानको ज्योति र सामाजिक चेतना अभिवृद्धि गर्ने गराउने उद्देश्यको लागि हामिहरू काठमाडौँ सँग जोडिएको नुवाकोट जिल्लामा कार्यरत रह्यौँ । मैले चाहिँ स्वर्गीय पण्डित सँगै करिब चार वर्ष एउटै स्कुलमा र एउटै कोठामा विताएँ । अति सरल सादगी जीवन तथा समाजका लागि केहि गर्ने उच्च विचारका साथ वाम राजनितिमा समर्पित पण्डित सर सँग धेरै मेरो सम्बन्ध मृत्यु हुुनु एकदिन पुर्व सम्म अटुट रूपमा रह्यो । म काठमाडौँमा कार्यरत क्यानभास इन्टरनेसनल कलेजमा उहाँ मृत्युको अघिलो दिन समेत आइ आफ्ना भावी योजना बारे मसँग अन्तरक्रिया गरेको अझैपनि ताजा छ । पछिल्लो समय उहाँले पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्ने, नुवाकोटको शैक्षिक उन्नयनमा संलग्न हुने, परम्परागत र सास्कृतिक धरोहरका मुल्यमान्यताहरूको संस्थागत विकास गर्ने र नुवाकोट जिल्लाको कम्युनिष्ट आन्दोलनको पुस्तक लेख्ने कार्यमा संलग्न हुनुन्थ्यो । उहाँको नेतृत्वमा हामीहरू नुवाकोटको सामाजिक, शैक्षिक, राजनैतिक चेतनाका धेरै अभियानहरूमा सहभागी भयौँ ।

पञ्चायतीकालीन समयमा समेत उहाँकै नेतृत्वमा नुवाकोटमा विद्यार्थी, युवा, किसान तथा शिक्षक संगठनहरूको सुदृढीकरण तथा विस्तार भएको थियो । जसको प्रसंशा आजपनि स्थानिय अभिभावक तथा विद्यार्थीहरूले मुक्त कण्ठले गर्दछन् । आफ्नो व्यतिmगत तथा पारिवारीक स्वार्थबाट माथि उठी उहाँ जीवनको अन्त्य सम्म समाज रुपान्तरण गर्ने अभियानमा प्रयत्नशिल रहनुभयो । सामाजिक अभियान्तका रूपमा चिरपरिचीत स्वर्गीय पण्डित आफू शिक्षकको रूपमा कार्यरत रहँदा सम्पुर्ण शिक्षकहरूलाई उनिहरूको हक, हित तथा पेशा सुरक्षित गराउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष मा समेत निर्वाचित भई शिक्षकहरूको सञ्चय कोष, निवृतिभरण तथा सरकारी कर्मचारी सरह शिक्षकहरू सरह तलब सुविधा कायम गर्ने महत्वपुर्ण कार्यहरू समेत गराउन सफल रहनुभयो । वाम राजनितीका जुझारु व्यक्तित्व स्वर्गीय पण्डित २०४३ सालमा नुवाकोट जिल्लाबाट तत्कालिन राष्ट्रिय पञ्चायतमा जनपक्षिय उम्मेदवारको रूपमा प्रस्तुत भई पार्टिलाई सशक्त बनाउने कार्यमा लागी पर्नुभयो ।

लेखक शर्मा ।

निरन्तर राजनितिमा सकृय स्वर्गीय पण्डित २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट विजयी भई संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । पुष्पलाल प्रतिष्ठानको केन्द्रिय सदस्यको रूपमा कार्यरत स्वर्गीय पण्डित पछिल्लो चरणमा पार्टिमा सामान्य मतभेद भएपछि उहाँको क्षमता, सिर्जनशिलतालाई प्रयोग गर्ने गराउने वातावरण पार्टि पंक्तिमा वन्न सकेन भने पार्टि पद्धति भित्र रहि आफूलाई अगाडी बढाउने सन्दर्भमा स्वर्गीय पण्डित पछाडि परेको महशुस उहाँको शुभचिन्तकहरू गर्दछन् ।

नुवाकोटमा गतवर्ष सम्पन्न आम निर्वाचन नेकपाका दुवै जना सांसदहरु बिजय हुनुमा स्वर्गिय पण्डितले कम्यूनिष्ट आन्दोलनमा पु–याएको योगदानको परिणाम हो भन्दा फरक पदैन । जे–होस मुलुकको कम्युनिष्ट आन्दोलनको एउटा सशक्त जुझारु, इमान्दार र कर्तव्यनिष्ट व्यक्तित्व, शिक्षकहरूको प्रिय नेता, विद्यार्थीहरूको असल गुरु, किसानहरूको चिरपरिचित सहयोद्धाको रूपमा स्थापित स्वर्गीय गणेश पण्डितको देहवसानले नुवाकोटको मात्र मुलुककै एक अपुरणिय क्षतिको रूपमा मैले लिएको छु । उहाँप्रति गहिरो हार्दिक ‘श्रद्धा–सुमन’ तथा परिवारजन प्रति गहिरो हार्दिक समवेदना !!!

(लेखक त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक हुन ।)

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार २१:४०