१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुले भोलि त्रिवि उपकुलपतिको कार्यालय घेराउ गर्ने


५ फागुन, काठमाडाैँ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न विश्वविद्यालयसँग माग गरेका हुन् । दुवै सङ्गठनले कार्यतालिका सार्वजनिक गर्न दबाब दिन सोमबार विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा प्रदर्शनसहित घेराउ गर्ने जनाएका छन् । मङ्गलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिने अनेरास्ववियुका अध्यक्ष लामाले बताउनुभयो ।

उहाँले त्रिविले आफैँले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिक आइसक्दा पनि अहिलेसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । यसअघि दुवै सङ्गठनले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न त्रिवि पदाधिकारीसँग माग गरेका थिए । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा २०६५ सालयता राम्रोसँग हुन सकेको छैन । विसं २०७४ धेरैजसो क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार २२:२१