१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पशुपति शर्माले माफी माग्दै आफ्नो नयाँ गीत युट्युबबाट हटाए (शर्माको विज्ञप्तिसहित)


४ फागुन, काठमाडौँ । चर्चित गायक पशुपति शर्माले ’लुट्न सके लुट कान्छा, अरू देशमा पाइदैन नेपालमै हो छुट‘ बोलको गीत युट्युबबाट हटाएका छन । आफ्ना शुभेच्छुक र समर्थकको केही शब्दमा चित्त दुखाइ भएकाले आफूले गीत हटाएको उनले फेसबुकमा एउटा विज्ञप्ति पोष्ट गर्दै बताएका छन ।

शर्माको गीतमा राष्ट्रपति लगायतका संस्थाप्रति नभएको आरोप र आक्षेप लगाइएको थियो । त्यसलाइ गायक शर्मा स्वयंले स्वीकार गरेका छन । उनले शुभेच्छुक र समर्थकका लागि त्यही गीत केही आपत्तिजनक शब्दहरू हटाएर पुन ल्याउने र त्यसका लागि केही समय लाग्न सक्ने बताएका छन ।

आफ्नै युट्युव च्यानल मार्फत गायक शर्माले शुक्रबार गीत सार्वजनिक गरेका थिए । शब्द, स्वर र संगीत समेत पशुपति शर्माकै रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन । भिडियोमा पशुपति शर्मा आफैँले अभिनय गरेका छन भने मञ्जु बिक र प्रज्वल भण्डारीले पनि अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन र छयांकन दुर्गा पौडेलले गरेका छन ।

हेर्नुहोस शर्माको विज्ञप्ति

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २२:५४