१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यसरी दिन सकिन्छ जनताको जलविद्युत् आयोजनामा शेयर आवेदन 


२ फागुन, काठमाडौँ । बिहीवार सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम घोषणा गरेको छ । जलविद्युतमा लगानी गराएर सर्वसाधारणलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने उद्देश्यले सरकारले उक्त कार्यक्रम घोषणा गरेको हो ।

सरकाले घोषणा गरेको उक्त कार्यक्रममा तोकिएका जलविद्युत् आयोजनामा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीले लगानी गर्न पाउने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि मुलकभरका विभिन्न १९ वटा जलविद्युत् आयोजना तोकिएका छन् ।

प्रतिकात्मक तस्विर

यसरी दिन सकिन्छ शेयरमा आवेदन

जलविद्युत् आयोजनामा लगानी गर्नका लागि शेयर प्रबद्र्धक कम्पनीले बिक्री प्रबन्धकमार्फत् शेयरको सार्वजनिक निष्कासन गर्नेछ ।

कम्पनीले शेयर निष्कासन गरेपछि लगानी गर्न इच्छुक व्यक्तिले शेयर खरिदका लागि आवेदन दिनुपर्ने छ । आवेदन दिने व्यक्तिले आस्वा प्रणाली अनुसार दिनुपर्ने र त्यसका लागि व्यक्तिको डिम्याट खाता तथा बैंक खाता अनिवार्य खोल्नु पर्नेछ ।

आवेदनका साथमा खरिद गर्न प्रतिबद्धता गरेको रकमको १० प्रतिशत शेयर भुक्तानी पहिलो किस्तामा गरिने छ । आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गर्न सकिनेछ

सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गतका आयोजनामा ऋण लगानी ७० प्रतिशत र शेयर लगानी ३० प्रतिशत रहने छ । जसअनुसार सरकारको लगानी ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने मन्त्रालयले प्रस्ट पारेको छ ।

कार्यक्रम अन्तर्गत ३४ सय ७९ मेगावाटका १९ वटा आयोजना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ वटा, प्रदेश ३ मा २ दुईवटा, गण्डकी प्रदेशमा ४ वटा, प्रदेश ५ मा १ वटा, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा आयोजना रहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १७:२७