१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मापदण्डविपरीत बनेका घर हटाइँदै


–सुशीला रेग्मी

बेझाड, २९ माघ (रासस): तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो ।

नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासविना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ । तानसेन नगरपालिका– ७ जैसीचौपारीमा नगरपालिकाको नीति नियम मिचेर निर्माण गरिएको सुमन परियारको घर डोजरले भत्काइएको छ । सार्वजनिक जग्गामा मापदण्डविपरीत पक्की घर निर्माणको जग हाली पिलर ठड्याएकाले डोजर लगाएर हटाइएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

“सार्वजनिक जग्गामा बाटो मिचेर नियमविपरीत घर निर्माण गरेको उजुरी परेपछि पटकपटक निर्माण बन्द गर्न पत्राचार गरेका थियौँ, अनुरोध गर्दा अटेर गरेपछि संरचना हटाउन बाध्य भएका हौँँ”, उहाँले भन्नुभयो । नगरपालिकाभित्र मापदण्डविपरीत निर्माण भएका संरचना वडावडा तहबाट हटाइने नगरप्रमुख शाहीले बताउनुभयो । छानबिन गर्दा लालपुर्जासमेत नभएको, सार्वजनिक जग्गामा घर निर्माण भइरहेको र निर्माणाधीनस्थलमा बाटो मिचिएको भेटिएपछि हटाइएको हो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ११:४७