१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डिपिएलमा घरेलु टोली पराजित


–सिद्धराज भट्ट

२८ माघ, धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन आज भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी शुरुआत गरेका छन् ।

दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाडौँले धनगढीलाई चार विकेटले हराउँदा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडमाथि दुई रनको रोमाञ्चक जीत दर्ता गरेको हो ।

धनगढीले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा लक्ष्य पूरा ग¥यो । काठमाडौँलाई महत्वपूर्ण जीत दिलाउने क्रममा गौरभ तोमरले २८, अनिलकुमार शाहले २४ तथा अङ्कित दवासले २९ रनको पारी खेले । धनगढीका लागि रोहन मुस्तफाले चार विकेट लिए । आमीर हायत र विपीन कार्कीले पनि समान एक–एक विकेट हात पारे ।

ज्ञानेन्द्र मल्लको कप्तानीको काठमाडौँ गोल्डेन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीको धनगढीले २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । ओपनरद्वय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेटका लागि अमित श्रेष्ठ र सन्दीप रजालीबीच ५२ रनको साझेदारी भएको थियो ।

अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए । ५० बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । सन्दीपले २८ रनको पारी खेले । पवन सरार्फले १९ तथा शौरभ खनालले अविजित रहँदै २५ रन बनाए । काठमाडौँका लागि नन्दन यादवले दुई विकेट लिए भने ललित राजवंशी र अङ्कित दवासले समान एक–एक विकेट लिएका थिए ।

दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १०९ रन मात्रै बनाउन सक्यो । टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर चार, कुशल मल्ल नौ, आरिफ शेख पाँच र सिद्धान्त लोहनी चार रनमा आउट भए ।

रुपन्देहीका विक्रम सोवले तीन ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । त्यस्तै पुनित मेहराले दुई तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाउँदै १११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी एक, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा तीन, भीम सार्की दुई रन बनाउँदै आउट भए ।

यस्तै कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शून्यमा आउट भए भने कृष्ण कार्कीले चार रन जोडे । विक्रम साव १० बलमा १६ रन बनाउँदै अविजित रहे । महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । सागर ढकाल र अविनाश बोहराले दुई दुई विकेट लिए । कप्तान शरद भेषावकरले एक विकेट लिए । लिगअन्तर्गत भोलिको पहिलो खेलमा धनगढी स्टार्स र सिवाइसी अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २३:१९