१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फेक रेस्क्युका प्रमाणबिहीन समाचारले नेपाल भ्रमण बर्ष प्रभावति हुनसक्छः नाट्टा


१५ माघ, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले फेक रेस्क्युका प्रमाणबिहीन समाचारले नेपाल भ्रमण बर्ष प्रभावति हुनसक्ने जनाएको छ । मंगलबार नाट्टा अध्यक्ष सिएन पाण्डेले विज्ञप्ति मार्फत पदयात्रा तथा पर्वतारोहण र उद्दार सम्बन्धी गलत र भ्रामक समाचारहरु प्रकाशित हुँदा नेपाल भ्रमण वर्ष २०२० लाइ नै प्रभावित गर्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन ।

नाट्टाले पर्यटकीय सिजन शूरु हुने बेलामा फेक रेस्क्युका बारेमा प्रमाण वेगरका समाचारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा अाउनु निश्चय पनि नेपाली पर्यटन व्यवसाय र खासगरी साहसिक पर्यटन क्षेत्रका लागि हितकर बिषय नभएको भन्दै समाचारहरू नियोजित रुपमा सुरु गरिएको होकि भन्ने आशंका जन्माएको जनाएको छ ।

विगतमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई फेक रेस्क्यूको नाममा ट्रेकिङ्ग एजेन्सी, टूर अपरेटर र अस्पतालहरुको संलग्नतामा अनुचित रुपमा विमा रकम दावी गर्ने गरिएको विषय सार्वजनि भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समितिनै गठन गरी कारबाही गरेको व्यहोरा समेत नाट्टाले स्मरण गराएको छ ।

अध्यक्ष पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘विभिन्न संचार माध्यमहरुमा समाचारहरु प्रकाशित भएपछि सो सम्बन्धमा छानविन गर्न नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाई सो को आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई न्यूनिकरण गरि खोज उद्दार तथा उपचार कार्यलाई व्यवस्थित गर्र्न पर्यटक खोज, उद्दार, उपचार तथा अनुगमन सम्बन्धि कार्यविधि–२०७५ लागू गरि सकेको अवस्थामा पुनः केहि अंतराष्ट्रिय तथा राष्ट्रिय संचार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहण र उद्दार सम्बन्धी गलत र भ्रामक समाचारहरु प्रकाशित भएको प्रति नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को गम्भिर ध्यानाकर्षण भएको छ ।’

पाण्डेले यस्ता समाचारले समग्र पर्यटन क्षेत्रलाई प्रतिकुल प्रभाव पार्ने मात्र नभै नजिकिदै गएको नेपाल भ्रमण बर्ष २०२० लाई समेत नकारात्मक असर पार्ने भएकाले नेपाल सरकारबाट यथासिघ्र हस्तक्षेप गरी गलत काम नियन्त्रणा गर्न माग गरेका छन ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार २१:४९