२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

–लक्ष्मण सिटाैला

मेरा लोग्ने वृटिस आर्मीमा जागीरे भएर गएको अहिले ११ बर्ष बित्यो। घरमा भएका दुई छोरीलाई बोर्डिङमा बोर्डस गरेकी छु। म केहि गर्दिन बसि बसि खान्छु । घर बनाएर बाकी रहेको करेसावारि छ । तिनै फूल गोडमेल गर्छु , प्याज, धनिया ,काउली सिजनल तरकारी रोप्छु । बजारमा तरकारी किन्नु जानू पर्दैन । पछिल्लो समय श्रीमान छुट्टीमा आउँदा एउटा टिपर किनेर जानू भो । गाउँमा सामान ढुवानी गर्ने गाडीहरू उतिसारो थिएनन्। त्रीसुलीको बालुवा मात्रै बोक्ता पनि फाइदा हुदोरहेछ । छब्बीस लाख नगद बुझाएर बाकी पैसा बैंकबाट लोन लिइएको थियो ।दिनकै चार पाँच हजार आम्दानी छ ।

साझ परेसी चालक ( बिकि तामाङ ) आउँछ पैसा बुझाउछ जान्छ । सोझो छ चालक पनि । मलाई इमान्दार मान्छे असाध्य मनपर्छ । खेतीपाती अरुलाइ कमाउन दिइएको थियो । म पनि केही समय उतै लन्डन मै बसेकी थिए । यतातिरको ब्यवहार बिग्रने संभावना देखेर श्रीमानले गल्छी मै बस भन्नू भो। छोरीहरू च्य्पापेर आए। गल्छीको घर सडक छेउमै छ । चालक चै गजुरीको । सधैं टिपर आगनमा राखेर उ घरमा जान्छ । खाजा खान र गाडी चढ्नु भनेर तलब बाहेक उसलाई दिनको तीन सय दिइने गरेको छ । एका बिहानै आइपुग्छ । क कस्को ढुवानी गर्ने उ आफै ब्यवस्थापन गर्छ । अलि सोझो छ केटो । एक महिना अगाडि एउटा पुलको लागि बालुवा गिटि छड सिमेन्टको ढुवानी उसैले पारेको थियो । बेलुकी निकै अबेर हुने भो भने फोन गर्छ । घरको मुल गेट खुलै राख्दिन्छु। कुन्नी कतिबेला गाडी भित्र हुल्छ अनि टिपरमै सुत्छ । बिहान झिसमिसेमै चिया खाजा लग्दिन्छु खाएर निस्कन्छ ।

असाध्य मिहिनेती छ । यस्ता मिहिनेतीले श्रीमती पनि सजिलोसँग पाल्छन । भर्खर २१ बर्षको भए म साहुनी भन्छ । तामाङको बच्चा खाइलाग्दो छ । कमाएको पैसा पनि कुनै हिनामिना गर्दैन।
सबै टिपको हिसाब बुझाउछ । गाडी बिग्र्यो टिप पाइएन यसो त्यसो गुनासो गर्दैन । जे दियो हात थापेर खान्छ । बाउआमा गरिब छन रे । कहिलेकाही तिउनतरकारी फलफूल पठाइदिन्छु । पन्ध्र दिन अगाडि त्रीसुलीबाट कालो दाल किनेर ल्याइज भनेको दुई पाथी ल्याएछ । एक पाथी लैजा भनेर दिए । चामल तेल आफै किन्दिन्छु । कहिलेकाही चाउचाउ एक दुई कार्टुन किन्दिन्छु लैजान्छ । बाबुआमा खुसी छन रे ।

दुई महिना मात्रै भो बिकिलाई राखेको । पहिलाको चालक अलि बुढो थियो । अल्सि पनि त्यस्तै । अर्हाएको मात्रै गर्ने । आफ्नो विवेकले काम नगर्ने पुरुष काम छैन । हटाइदिए । अनुहार पनि घिनलाग्दो थियो । मुख गन्हाउने ह्वास्स । कहिलेकाही त बिहानै लोकल कोदाको पिएर आउथ्यो । बेलुकी गाडी आगनमा नहुले सम्म डर लागिरहन्थ्यो ।

यो बिकि त भाग्यले पाएको । सफासुघ्घर गर्छ।गाडी पनि चम्काउछ आफू पनि चिटिक्क परेर हिड्छ । एकदिन फोन गरेर पनि राती १२ बजे सम्म आएन । पिर लाग्यो फेरि फोन गरे । आइसकेर पनि गाडी आगनमा हुलिसकेछ। राती तल आगनमा हेर्छु बिचरो टिपर भित्र कसरी सुत्यो होला यो जाडाेमा जस्तो लाग्यो । राजमार्गमा नाइट बस कुदिरहेका थिए । छिमेकी पनि चकमन्न सुतिसकेका थिए ।माथी गल्छि चोकमा आगो बालेर केही मान्छे हल्ला गरेको सुनिन्थ्यो ।

तल ओर्लिए आगनमा । बिकि चालक क्याबिनमा लुगाफाटो मिलाएर सुत्न लागेको रहेछ बोलाए ।

त्यो दिन अलिक जाडाे थियो । बेलायत देखिनै बेलुकी कहिलेकाही अलिकति पिउथे । श्रीमानले सिकाएका । उतैबाट आउँदा डिउटि फ्री बाट ४ बोतल ल्याएकी थिए । कहिलेकाही दिक्क लाग्छ । उता लन्डन हुदा श्रीमानसग नाइटक्लब गएको याद आउँछ । अरु पनि के के याद आउँछ । याद मात्रै आएर पो के गर्नु । कल्पना चाहना इच्छा आकन्क्ष्या जीवन जिन्दगी जवानी सबै सबै दबाउनु पर्दोरहेछ हामी स्त्रीले । झन छोरीहरुलाइ बोर्डिङ बोर्डस गर्दिएसी कस्तो एक्लो फिल हुन्छ । आधा रातको त्यो धीमा उज्यालोमा बिकि हाफ पाइन्ट लगाएर सुत्न लागेको रहेछ ।
चिसोले काम्यो होला भनेर भुवादार मलमलको ब्ल्यान्केट बोकेर आएकी म एक्छिन त अक्कमक्क भए । बिकिको सुडाेल तिघ्रा देखेर । उस्ले पनि अलिक लाज मान्यो र हत्तपत्त तौलियाले छोप्यो छोप्नुपर्ने ठाँउ । पैसाको बिटाे हातमा थमायो मेरो । उस्ले सोचेछ म आजको टिपरको हिसाबकिताब बुझ्न आएकी भनेर ।
उस्ले माथी क्याबिन बाटनै पैसा गनेर दियो । ठ्याक्कै नौ हजार ।
कस्तो कुरा गर्न मन लाग्यो आज उ सग । नजिकैबाट हेरेको मैले उसलाई आजै हो ।

आगन छेउमा बलेको धीमा उज्यालो लाइटमा उस्को मुखाकृति स्पष्ट देखे । कस्तो सफा छ यो केटो । कतै दाग धब्बा महिलो केही छैन । कपाल पनि कस्तो कर्ली परेको । मङ्गोल भएर पनि बाहुन जस्तो । पहिलाको चालक त वरिपरि जानै नहुने गन्हाउथ्यो । बिकि असाध्य सफा । भर्खरैको उर्लदो बैशको पुरुष हो बिकि । उर्लदो बैशका पुरुषको शरीरबाट एक प्रकारको बेग्लै मादकता वास आइरहेको हुन्छ । बरु मैले व्हिस्की पिएकि थिए थाहा पायो भने के गर्नु ।

” बिकि ?”
” हजुर”
” म पैसाको हिसाब माग्न आएकी होइन नि लाटा ”
” ठिक छ नि साहुनी बिहानै टिप गर्न जानुछ यत्रो पैसा
किन बोकेर हिड्ने भनेर हो ”
” के खायौ त ?”
” माथी नारायण दाइको होटेलमा भात खाको ”
” जाडाे भा छैन तिम्लाइ ?”
” छैन नि ”
” यस्तो चिसोमा झन हाप पाइन्ट लाएर बसेको”?
” पख म माथी बाट ट्रयाक सुट ल्याइदिन्छु “

म माथी पुगे । श्रीमानलाई भनेर किनेको एउटा नयाँ ट्रयाक सुट दराजमा थियो । दराज खोले । प्लास्टिकमा प्याकिङ गरेको थिए। खोले । यसो हेरे । राम्रो कलरको रे छ सुहाउँछ बिकिलाइ ।
अलिकति एक पेग थप्न मन लाग्यो फेरि । सोचे आ.. आ.. के भो त मेरो जिन्दगी मेरो मर्जी । म आफ्नो इच्छाले बाच्ने पो हो । तल बिकि मलाई कुरिरहेको होला । कस्तो खाइलाग्दो छ बिकि । लजालु छ अलिकति । तर उस्को शरीर त… बाफ्रे । खोइ किन पो आज मलाई बिकिको किन यति धेरै माया लागेको । पिएर पो हो कि । नहोला त्यस्तो त । पिए पछी पुरुष पनि यस्तै मात्तिने होलान है। केके केके गरु जस्तो । हासु जस्तो नाचु जस्तो गाउँ जस्तो ।
झ्याल खोलै थियो । त्यतैतिर बाट बग्दै आएको चिसो हावाले गालामा छोएर भाग्यो । माथी झ्यालबाट बिकिलाइ क्याबिनमा देखिन्छ । उसलाई थाहा छैन मैले उसलाई हेरिरहेको छु भनेर ।
क्याबिनको बत्ती बालेर एउटा कापिमा के के लेख्दै छ उ । उस्को सुडाैल शरीरमा मेरो आँखा मात्तिएर उसैतिर तिर हान्छ । आगनमा एउटा बैशले भरिएको युवा एक्लै छ । म माथी छु । आज अर्कै तरङ्ग दौडिरहेको छ शरीरमा । यस्तो तरङ्ग जो पहिला कहिले भएन ।

झ्यालबाट निस्फिक्री बिकिलाइ हेरिरहेको छु । रात चकमन्न छ ।
बिकि कहिले कापिमा लेख्छ कहिले मोबाइल चलाउछ । कहिले झ्यालबाट यसो बाहिर हेर्छ । उ पक्कै पनि मलाई नै कुरे जस्तो लाग्छ अहिले । मात चढेको बेलामा यो मनले के के कस्तो कस्तो सोच्दो रहेछ आज आफैलाइ अनुभुती भो । पुरुषहरु नसामै मात्तिएर छिल्लिएका कुरा गर्छन । श्रीमान नसा पिएकै बेलामा कस्तो मात्तिनु हुन्थ्यो । साची बिकिलाइ लाई पनि एक पेग पिउन दिउउकी क्या हो जे त पर्ला । बिचरा जाडाेमा लगाओस एक पेग। आखिर त्यस्को पनि शरीर त्यस्को पनि मन त्यस्को पनि बैँस । के भो त पिओस । माथिनै बोलाएर पिउ भन्छु । तर लजालु छ।
म लाज मान्नुपर्ने उ चै लजाउछ मोरो काले ।

रातको १२ बजेर सत्र मिनेट गयो । बिकिलाई एउटा अपोको मोबाइल किन्दिएकी थिए दुई हप्ता अगाडि । धेरै पढेलेखेको छैन तर सबै एप्लिकेसन चलाउछ । निहालेर हेरे माथी बाट । उ मोबाइलमा के के फिल्म हेर्दै छ । सोझो सम्झेकी थिए तर कस्तो चलाक रेछ बिकि । ओहो ! म त बिस्मित भए । जिउनै ढक्क फुलेर आयो । फेरि अर्को एक पेग थपे । बिकिलाइ रेडि गरेको लुगा पुर्याउन तल ओर्लिए। गएर क्याबिन झ्याल ढकढकाए । बिकिले टिपरको क्याबिन खोल्यो।

मैले लुगा दिए । उस्ले लुगा समात्यो । उस्ले केही बोलिदिए हुन्थ्यो भनेर सोचेकी थिए । केही बोलेन । उ झ्याल माथी बाट मलाई हेर्दै छ । उस्को आँखामा मेरो आँखा जुद्न पुग्यो। उ लजायो । मलाई अघिनै थाहा थियो उ लजाउछ भन्ने।

म नाइट गाउनमा थिए । एउटा बर्कोले छाती छोपेकी थिए । यति जाडाेमा अलिक न्यानो लुगा लगाउन पर्थ्यो तर मैले जानाजान लगाइन । छाती अलि खुलै राखेकी थिए । आखामा गाजल पनि थियो । ओठमा गुलाबी कलरको ब्र्यान्डेड लिपिस्टिक पनि लगाएकी थिए । मैले चाहेकी थिए उस्ले छातीमा हेरोस । नभन्दै हेर्यो बिकिले मेरो छाती । उस्ले हेरेपछि उस्लाइ पत्तै नहुने गरेर मैले छातीको बर्को अलि तल झारे । उ झन लोभिएर हेर्न थाल्यो।
कस्तो खुसी भए म । अर्कै उन्माद अर्कै रमाइलो अर्कै अर्कै तरङ्ग मगमगायो शरीरमा । उ माथी थियो। म तल थिए । राजमार्गमा लगातार चलिरहेको गाडीको ध्वनी पनि रातको निस्तब्धतामा चर्को सुनिन्थ्यो ।

” बिकि लगाउन लुगा ! जाडाे भो भनेर ल्याइदिए झन ”
” भोलि लगाउछु नि हुन्न साहुनी “?
” हुदैन अहिले नै लगाउ ”
” हस एकै छिन है त “

बिकि क्याबिनको झ्याल आधा खोलेर अलि भित्र पस्यो । म तल टिपरको छेउमा उभिरहे । मनले माग्न थाल्यो उस्ले लुगा फेरेको हेरु र उसगै न्यानिएर क्याबिनमा सगै बसु । अलिकति कुरकुचा उठाएर माथी हेरे । उ अलि लझायो । लुगा फेर्यो। न्यानो भएर झ्यालबाट हेरेर मुस्कुरायो । मलाई खुसी लाग्यो । जे होस मैले भनेको मान्यो । मेरो इच्छा राखिदियो ।

” बिकि तिम्लाइ न्यानो भो अब म सुत्न जाउ ? ”
” हस म पनि सुत्छु ”
” केही खाने मन छ ? ”
” भर्खरै खाना खाएको हो भोक छैन ”
” मैले किन्दिएको मोबाईल मन पर्यो नि तिम्लाइ”?
” एकदम मन परेको छ सबै साथीहरूको भन्दा मेरो राम्रो रे !”
” जतन गरेर राख नहराउ कसैलाई छुन नदेउ”
” हस खोल पनि हाल्छु भोलि ”
” मन परेको फिलिम डाउनलोड गर न माथी वाइफाइ छ ”
” हो र ! भोलि अलिक छिटो हुन्छ दुई टिप पछि फ्री ”
” भोलि अलि छिटो आउ। त्रीसुलीबाट फ्रेस माछा पनि ल्याउ है”

माथी उक्लिए । कोठा भित्र आएपछि पो चिसो लाग्यो । म स्त्री । मेरो चाहना भन्न बन्देज छ । मैले मनको कुरा भनी भने म उत्ताउली हुन्छु । नत्र म उस्को मालिक्नी म जे पनि गर्न सक्छु । उस्को शरीर सग खेल्न सक्छु। उस्लाइ भन्न सक्छु म के चाहन्छु। शरिरिक भोक भन्दा मानसिक भोक झन तीब्र हुदोरहेछ। म जे नि सोच्न पाउछु । मेरो मन मेरो मर्जी । मेरो शरीर मेरो खुसी । मानिस बाहिर स्वतन्त्र नभए पनि आफ्नो मन भित्र त स्वतन्त्रताले बाच्न पाँउछ। ओछ्यानमा त कमसेकम स्वतन्त्र बाच्न्देउ मनुष्यलाई । मलाई केको डर । अरुलाइ के मतलब । म फोन गरेर अहिले नै उस्लाइ यो पलङमा सुताउन सक्छु। मेरो इछ्या कस्ले के गर्छ मलाई । कस्को किन रोकतोक । कमसेकम स्वतन्त्र सोच्न त पाउछु नि। बत्ती निभाए। अघिनै बालेर राखेको हिटर नजिक बसे । रातको एक बज्यो । बाहिरको एकान्त सन्नाटाले आफैलाई चिथोर्न थाल्यो । भोलिको कल्पनामा डुब्न थाले । भोलि त बिकि माथी नै आउँछ । आहा ! उ पहिलो चोटि माथी आउदै छ । मेरो अगाडि । उसलाई यहि मोटो सोफामा राख्छु । माछा फ्राइ गरेर खुवाउछु । मान्यो भने ह्विस्की पनि खुवाउछु । पिउछ होला नि । अहिलेको युवा ठिटाे । बैशले बलेको धपक्कै। कस्तो हिस्सी परेको छ नि मोरो काले ! । हास्दा पनि कस्तो राम्रो देखिदोरहेछ। मन पर्यो। उस्को बलिस्ठ युवा छातीमा एक चोटि छाम्ने इछ्या छ । के भन्ला मलाई । के सोच्दो होला ।
मैले भनेको मान्छ होला नि पक्कै ।

रात लम्बियो । निन्द्रा पटक्कै लागेन । पलङ छेउमा राखेको एक गिलास पानी पिए । खुट्टा तातेन निकैबेर सम्म । झ्याल खोलेर हेरे। आगनमा टिपर दिन्भरको थकाइले मस्त निदाए जस्तो देखिरहेको छु । टिपर चालक बिकि सानो लाइट बालेर क्याबमा मस्त सुतिरहेको छ। खुसी लाग्यो । उ त्यही लुगामा झप्किएछ । सिरानी कस्तो अग्लो बनाएछ । मोबाइल हातमै देखे । मोबाइल हेर्दाहेर्दै निदाएछ बिचरा। माया लाग्यो । खै के भा छ मलाई आज कुन्नी ? । बिकिको मुहार हेरिरहे । उस्ले बिस्तारै श्वास फेरेको पनि देखिन्छ माथीबाट । उ निदाएको हेरिरहे । एकोहोरो हेरे । कल्पना गरे केके केके । भोलि म बिकिलाई व्हिस्की पिलाउछु । म सगै सुताउछु । के थाहा कस्लाइ । माछा उसलाई असाध्य मीठो लाग्छ । माछा र व्हिस्की दुवैजना खाने अनि… । अनि केके केके । यति सोच्दैमा मलाई खोइ के भएको यस्तो ।

किन यति धेरै मात लागेको मलाई । हिस्टेरिया भनेको यहि हो त ! बिकिलाइ उठाउ जस्तो नि लाग्छ । तर फेरि के बाहना गरेर उठाउनु ? तर डर लाग्यो भन्छु नि । त्यति भनेसी त उस्ले पत्याउला । लोग्ने सम्झिए । ओहो ! छोरीहरू त पुरै बिर्सिएछु । शुन्य भए छु । म किन यस्तो अनैतिक सोचिरहेको छु आज । बिकि मेरो चालक त हो । भने भैहाल्छ नि मनको कुरा ।मलाई केको छेकथुन केको डर । उ मेरै नोकर त हो । म जे मन लागे नि गर्न सक्छु भन्न सक्छु । उस्को ज्यान मेरो जागीरले त पालिएको हो । मैले जे भने पनि उस्ले नाइनास्ती भन्न पाउदैन । उ मेरो अधिनमा रहेको मान्छे हो । मैले पालेको । उसलाई माया गर्ने अधिकार पनि छ र घृणा गर्ने अधिकार पनि ।

छि म स्त्री यति कम्जोर ! किन फुल्याउन सक्तिन म आफैलाइ ह।
के भन्लान् मेरा लोग्नेले थाहा पाए भने । चालक सग लसपस ।
ह्या जेसुकै भनुन । तिनी पनि मलाई झुक्याइ झुक्याइ कत्ति केटी सग सुतेका छन । मोबाइल चेक नगरेको हो र मैले पनि । एउटाि नारायणघाटकी तिमिल्सिनाकि छोरी थाप्री भन्दा हुरुक्कै हुन्थे । के थाहा उ पनि उतै त छे अहिले पनि । नाम मात्रैको पोइ छ उस्को । सबै ब्यवस्थापन गरिदिने त मेरै बुढा त हुन । म मात्रै सती सावित्री बन्नुपर्छ भन्ने छ र ? बुढा तिमी पनि इमानदार छैनौ म मात्रै किन इमान्दार बनेर आफू भित्रको चाहनाको ज्वाला निभारहु ह। मलाई पनि जल्न मन लाग्छ नि । आखिर मेरो पनि त तन हो । मेरो पनि मन हो । कति धेरै समय भैसक्यो म भित्रको प्यास नबुझेको । पुरुषहरू बाहिर चाहर्ने अनि स्वास्नीहरु तिनकै माया ममता र सम्झनामा आरती गरिरहनु पर्ने ! मलाई माफ गर बुढा अब म तिम्रो मात्रै रहन्न । स्त्रीहरु कुनै दासी होईनन । सुश्री सम्पत्ति भएर यो सताब्दीका कुनै स्त्री बस्न चाहन्नन । मलाई माफ गर बुढा । म भोलि यतिबेला बिकिको अगालोमा बाधिएकी हुन्छु । तिमी पनि उता रमाइलो गर । म केही भन्दिन । आँखा अगाडि चै अर्को सौता नहाल बस यति भए पुग्छ मलाई । रमाइलो गर्न जानिन मैले तिम्ले जस्तो । दुई लालाबाला छोरीहरू हुर्काउदैमा मैले यौन र सुखभोग बिर्सिएछु ।

बिहान एकै चोटि ब्युझिएछु । झलमल घाम लागिसकेको थियो । झ्याल खोलेर हेरे। रातिनै उठेर गाडी लिएर गएछ बिकि । आज त्यस्लाइ एक कप चिया दिन पनि सकिन । मोबाइल हेरे उस्को दुइटा मिसकल आएको रे छ । नुहाए तातोपानीले । फोन गरेको उ धुन्चे पुगेको रे छ टिप लिएर । फर्कदा त्रीसुलीको आलो माछा ल्याउनु भने । आज उस्ले माथी नै आएर गीत डाउनलोड गर्नी भनेको छ । खोइ किन पो हो आज लागेको घाममा मादकता छ । आज घर नै किन रमाइलो लागेको छ ! आफैलाइ एउटाी चन्चल चुलबुले अविवाहित नारी जस्तै सम्झेकि छु ।

ब्यागमा पैसा गनेको एक लाख असी हजार जम्मा भएछ । दिउँसो बुढाले फोन गरे। छिटो बैंकको लोन चुक्ता गर्नु भनेर । नयाँ चालक बिकि ले राम्रो पैसा बुझाइरहेको छ भन्दा खुसी हुनु भो । मिल्छ भने तल्लो फ्लाईटमा उस्लाइ एउटा रुम दिनु भन्नू भयो । हस भने । पैसाको हिसाबकिताब बुझाएको श्रीमान मख्ख परे । पैसा नै सबैभन्दा प्यारो रै छ दुनियाँमा जस्तो लाग्यो । म लाहुरेकी स्वास्नी । सबैथोक छ । सम्पन्न छु । कुनै कुराको पनि अभावमा बाचेको छैन । तैपनि म भित्र कता कता के के नपुगेको जस्तो भैरहन्छ ।
अरुको पोइ दशै तिहारमा छुट्टी मिलाएर आउछन तर मेरा भने यस्तै हो । तिन्लाइ स्वास्नी नचाहिए मलाई पनि किन तिनी चाहियो ? । बेलाबेलामा पैसाको हिसाब बुझायो सुन्यो त्यसमै मख्ख पर्यो भै त गो नि ।

बिकि टिपर लिएर आइपुग्यो । झम्के साझ भएको थियो ।
म उस्कै प्रतीक्षामा थिए । टिपर बाट ओर्लियो उ । आज एघार हजार बुझायो मलाई । आलो माछा पाँच किलो ल्याएछ । वरिपरि कम्पाउन्ड भएको घर कसैले देख्दैनथे । मैले माथी हिड भने । चारैतिर हेर्यो उस्ले । अलिक डरायो । दुई महिना भो उ अहिलेसम्म माथी म बसेको फ्लाटमा गएको छैन ।

” गीत डाउनलोड गर्नी भनेको होइन हिंड माथी जाउ ।”
” साहुनी ! अहिलेसम्म माथी नगाको कसैले देखे भने नि “?
” किन चिन्ता ! मेरो घर मेरो मर्जी । तिमी मेरो चालक अनि !”
” मान्छेले कुरा काटे भने आम्मै ।”
” कसैको साहस छैन आउ “

उ र म माथी फ्ल्याटमा आयौ ।

माछा छिल्कन लगाए मैले । असला माछा रहेछ । लामो सलक्क परेका । गोसाइँकुण्ड देखि बगेर आएको चिसो पानीमा खेलेका माछा । हेर्दैमा पनि स्वादिला देखिन्थे । तल मुलगेटमा ताल्चा मारेर आए आफैले । माछा छिल्किएर सकायो बिकिले । उस्को हातमा तौलिया र सेम्पु दिए । तातोपानीमा मज्जाले नुहाउ बिकि भने । उ अलिक लजायो । बाथरुम भित्र छिर्यो । म व्हिस्की तयार गर्न लागे । अलिकति तोरिको तेल राखेर माछा प्यानमा फ्राइ गरे ।

दुइटा ग्लासमा व्हिस्की हाले।

उ नुहाएर बाहिरै उभिरह्यो । मैले भित्र आउ भने । उ आयो। उसलाई म सगै सोफामा राखे । भान्सामा खाना पाक्तै थियो । मोबाइलमा पासवर्ड हाल्दिए । दुइटा गिलासमा व्हिस्की देख्यो उस्ले । मैले भने ” बिकि आज धेरै चिसो छ माछा र व्हिस्की खाने है” । उ अलिक लजायो । मैले भने ” तिमी पिउछौ नि ” उ केही बोलेन ।

” पिउन अलिकति । तिमी र म मात्रै त हो नि के को लाज तामाङको छोरो कस्तो लजाएको हो ” यति भनेसी उस्ले ग्लास समात्यो । एक ठुलो पेग बनाइ दिएकी थिए। माछा सग खुब रमाएर पियो उस्ले । गीत डाउनलोड गर्दिनुन भनेर मोबाइल दियो मलाई । उ माछा सगै मज्जाले पिउदै छ । मलाई पनि कस्तो झुमझुम भयो । उस्को मोबाईलमा नेपाली चलचित्रको गीत डाउनलोड गर्दिन थाले । गीतहरु डाउनलोड सगै उस्ले मोबाइलमा राखेको अर्कै रमाइलो खालको चलचित्रमा आँखा पुग्यो मेरो । खोलेर हेरे कस्तो नयाँ खालको रे छ । नसाले मात्तिएको बेला झन त्यस्तो चलचित्र ।

” बि कि तिम्लाइ कस्तो भै रा छ ?
” मलाई त मज्जा आयो
” पहिला पहिला पनि पिउथ्यौ ?
” बाहिर त धेरै पिउदिन आमाले बनाको जाड चै खान्छु
” बाहिर कहिले पिएनौ ?
” सत्य कसम छैन
” केटीसग बसेर पिएको छैनौ कहिले नि ?
” छैन । पहिला त पैसा हुदैनथ्यो अहिले पो काम पायो ।
” तिम्लाइ साहुजीले तल फ्ल्याटमा रुम दिनु भन्नुभएको छ बस्नी
हो ?
” भैहाल्छ नि । बिहे गरेको छैन। म एक्लो त हो ।
” कहिले बिहे गर्छौ ? बिहे गर्न मन लागेको छैन ?
” गर्नी हो बाजा बजाएर गर्नी हो
” ल भोलिदेखी तिमी टिपरमा सुत्न पर्दैन ।
” भाडा कति लिनुहुन्छ धेरै महङ्गो भए म घरमै जान्छु ।
” फ्रीमा हो तिमी सग किन पैसा लिन्छु मैले ह्या लाटा
” बि कि एउटा कुरा भनु
” भन्नुन ।
” तिमी अलि लजाएको हो
” होइननी । अघि नपिउदा चै हो अहिले चै होइन
” मलाई हेरन सिधा आखाले । मलाई लागे जस्तो छ त ?

खोइ के के बोलिछु मैले ।बिकि को मोबाइलको फिलिम आफै प्ले हुदै गयो । उ पनि लाजले रातो भो साहुनीले यस्तो फिलिम देख्नु भो भनेर । म पनि लाजले भुतुक्कै भए । मन थाम्नै सकिन । बिकिको बलिस्ठ शरीरमा आगोको राप दन्किरहे जस्तो न्यानो अनुभुती भयो । त्यो निस्तब्ध रातमा एकै कोठामा उ र म मात्रै । झ्यालबाट चिसो आयो बन्द गरिदिए । एउटा रमाइलो धुन गुन्जियो । बाहिर आकाशको जुनेली पनि कतै थामिए जस्तो । एकान्त यति मीठो हुदोरहेछ कि पहिलो चोटि अनुभव भो । एउटा पुरुषको अगाडि आज मातले मात्तिन मन लाग्यो । बि कि सोफामा थियो । म चाहन्थे उस्ले मलाई आक्रमण गरिदिओस । मलाई छोइदेओस। मलाई अगालो हालोस। माछा र व्हिस्कीले उ यतिबेला बैशको घोडा जस्तै हिनहिनाउदै छ । म भित्र भित्रै एउटा अग्निदह ज्वालामुखी ओकल्दै छ । यो के हो ? वासना मात्रै हो या माया पनि ? अनेकौं प्रश्नहरु आउन थाले। बिकि नजिक गए म । उस्को सामु उभिए र उस्लाइ हात दिए । उ अलिक हच्कियो । उस्ले मलाई समाउने साहस गरेन ।

म मातले मुर्छित थिए । आफै मदहोसामा थिए । मैले उस्को हात समाते । गालामा म्वाई खाए । मेरो श्वास एकदम बढेर आयो ।
आफैले आफ्नो धुकधुकी थाम्न नसक्ने भएकि छु म । मलाइ उसैको सामु सर्वाङ्ग पल्टन मन लाग्यो । अब एकैछिन पनि अबेर भो भने म आफै पग्लिन्छु । उ उभियो । म उसैको सामु उभिए । दुवै हात दिए मैले उसलाई । आफ्ना कोमल हात समाउन दिए । म बेहोस जस्तै थिए । मैले उस्को बलिस्ठ छातीमा आफ्नो शरीर राख्न खोजे । उ उभिएको स्थानबाट अलिक पर हच्कियो ।मलाई ग्लानी फिल भयो । यो कस्तो पुरुष हो । किन मलाई स्पर्श गर्दैन ।
अति भयो । मैले अपमान सम्झिए । त साला तल्लो जातको द्राइभरलाई ओछ्यान सम्म ल्याएर गल्ती गरेछु भन्दै दाहिने हातले गालामा एक चड्कन तताएर हाने । उस्को आँखा बाट आसुको तप्का चुहिएर गालाको भिर हुदै बग्न थाले। केही बोलेन । चुपचापले उभियो । निशब्द :भयो । फेरि सोधे

” बि कि तिमी पुरुष हौ कि आइमाई हौ ?”
” पुरुष हु तर आफ्नो प्रेममा र आफ्नो कर्तव्यमा अडिग ”
” के तिम्रो गर्ल्फ्रेन्ड छ ?”
” छ । हाम्रो यो दशैमा प्वाङ राखेको । म उस्लाइ धेरै माया गर्छु ”
” मेरो पनि लोग्ने छन नि ! के फरक पर्यो त ! बिकि आउ मलाई
सम्हाल मज्जाले सम्हाल
” हुदैन पाप लाग्छ । हाम्रो तामाङ जातमा बिहे गर्न भनेर सगुन
साटासाट गरेपछि उ मेरी माया हो । उ प्रती बिश्वास घात गर्दिन”

मलाई असाध्य गार्हो भो । उसलाई चड्कन दिएको हात दुख्न थाल्यो । शरीरमा अघिनै पलाएको यौवनको उन्माद चिसो र सिथिल भैसकेको थियो ।

” सरि…. आइम भेरी सरि बि कि ।” उ सगै म पनि रोएछु ।

बि कि तल जान्छु भन्यो । म उस्लाइ तलसम्म पुर्याउन गए । उस्ले टिपरको क्याबिनको ढोका खोल्यो । मैले भने “नरिसाउ है बि कि बिन्ती ! बरु तिम्रो गर्लफ्रेन्डलाई पनि यहीं लेराउन है !” । उस्ले हस भन्यो । उ नरिसाइदिएकोमा म खुसी भए । रात आफ्नै पाराले घर्किरहेको थियो । माथी आइसकेपछि पनि फेरि झ्यालबाट हेरे । हेरिरहे । उसलाई पिटेको हात दुखिरह्यो । उस्ले एक वचन पनि फर्काएन । केही भनेन । आखिर एउटा सामान्य चालक न थियो उ । तर उ रोयो मात्रै । उस्को नुनिलो आँसु त्रीसुली जस्तै निर्मल देखे । आफैलाइ धिक्कारे । आफैसग रिसाए म आज । निन्द्रा परेन। फेरि एक पेग लिए । अहिले चै आफ्नै आँसु पिइरहे जस्तो लाग्यो । उ निदाइसकेको थियो। कस्तो शान्त मान्छे रे छ उ । बुद्ध जस्तै । फेरि मन पर्यो । तर….

उस्को प्रेम देखेर मलाई कताकता जलन भैरह्यो रातभरि ।

( सिटाैलाको कथा सङ्ग्रह “मिटु” भित्रको शिर्ष कथा )

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ०८:२०