१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ट्राफिक नियम मान्ने झण्डावाल गाडी, जसको भित्र हुन्छन श्रममन्त्री गोकर्ण विष्ट


१९ मंसिर, काठमाडौँ । वर्तमान सरकारको चर्को आलोचना गर्नेहरूले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । धेरै प्रचार नचाहने तर आफ्नो जिम्मेवारी पूरा गर्ने बानी भएका उनै मन्त्री ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीमा पर्छन । प्राय मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलार्इ गाडी हुइँक्याउन लगाउँछन तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा पनि रोकिन्छन ।

मंगलबार थापाथली चोकमा जाममा बसिरहेको समयमा मन्त्री विष्ट चढेको गाडी पत्रकार रामेश्वर बोहराको क्यामरामा कैद भएको छ । पत्रकार बोहराले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल भैरहेको छ । धेरैले त्यसलार्इ रिट्वीट गरिरहेका छन भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन ।

बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ !’

(ट्राफिक नियम सबैले मान्नुपर्छ र सबैलार्इ बराबर पनि लाग्छ तर हाम्रोमा भिअाइपी भनिएकाहरू यस्ता नियमलार्इ खुट्टाले कुल्चिएर हिड्छन जुन सर्वथा गलत छ । यस्तै अवस्थामा एकजना मन्त्री चढेको झण्डावाल सावारीले नियम मानेर अरूलार्इ समेत मान्न प्रेरित गरेको विषय जनचेतनाका लागि प्रभावकारी होस भन्ने हेतुले यो समाचार तयार पारिएको हो ।–सम्पादक)

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ०८:०४