१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सप्तरीमा किशोरीको लागि एक महीने क्रिकेट प्रशिक्षण


१३ मंसिर, सप्तरी ।  क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि  एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ ।

सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिनुभयो । खड्ग नगरपालिका–७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गर्नुभयो ।

सुरुङ्गा नगरपालिका र खड्ग नगरपालिकाको संयोजन तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा क्रिकेटको विकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला क्रिकेट उत्पादन गर्ने लक्ष्यसँगै सप्तरीबाट टिम वर्षौंदेखि बन्न नसकेकाले सप्तरीका टिमसमेत प्रतियोगितामा सहभागी गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट सङ्घका सचिव श्रेष्ठले भन्नुभयो ।

राष्ट्रिय प्रशिक्षक टमाटाले खड्ग र सुरुङ्गा नगरपालिकाका १२५ किशोरीलाई प्रशिक्षण दिनेछ । प्रशिक्षणबाट उत्कृष्ट ३० किशोरीलाई खेलाडीबीच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला क्रिकेट टिम बनाउने लक्ष्यसमेत रहेको सबल नेपालका चन्दन यादवले बताउनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १६:२७