२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरू


८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ । दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी हुने छन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उहाँले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।

मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गर्नुभयो ।

परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १२:४८