२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण


७ वैशाख, काठमाडाैं । कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको उपस्थितीमा कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकवहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । उनले विश्वविद्यालय स्थापना देखिनै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएता पनि हाल शिक्षण अस्पतालले १०० शैयाको सञ्चालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए ।

यस्तै उनले १०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपकवहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे । साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने बताए ।

उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमका बीच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयबीच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपकबहादुर भण्डारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १७:५४