२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

जसपा सांसद हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ


७ वैशाख, काठमाडौँ ।  सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे ।

सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराए ।

सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:३४