१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोडमा सीमित


७ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ कायम भएकाे छ ।

गत आवको सोही अवधिमा भने बैंकहरूकाे नाफा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेकाे थियाे । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंकको नाफा बढेको छ भने बाँकी १३ वटा बैंकको नाफा घटेकाे छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको वित्तीय विवरणले देखाएको छ । याे अवधिमा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक रहेकाे छ भने सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, याे अवधिमा हिमालयन बैंकको नाफा १२.०३ प्रतिशतले बढेकाे छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशत र एभरेष्ट बैंकको नाफा ५.७७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा एनएमबि बैंककाेको नाफा १६.४३ प्रतिशतले घटेर २ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन्स बैंकको नाफा १.९९ प्रतिशतले घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६.२४ प्रतिशतले घटेर २ अर्ब ४४ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ कायम भएकाे छ ।

त्यस्तै, कुमारी बैंकको नाफा १९.११ प्रतिशतले घटेर १ अर्ब ५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ५३.३० प्रतिशतले घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ र नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १३:०५