१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कसैलाई लाभ पुग्नेगरी करका दर हेरफेर हुने छैनन्ः अर्थमन्त्री पुन


२८ चैत, काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले सस्तो लोकप्रियता र कसैको लाभका लागि आगामी आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा वित्तीय अनुशासन नमिचिने जिकिर गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणासभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा बाेल्दै अर्थमन्त्री पुनले यस्ताे बताएका हुन् ।

“हामी अहिले सस्तो लोकप्रियताको कुरा गर्ने र ताली खाने अवस्थामा छैनौँ । करका दायरा हेरफेर हुँदा त्यसको कारणको पुष्ट्याइसहित आउँछ । व्यक्तिगत र संस्थागत रुपमा कसैलाई लाभ पुग्नेगरी करका दर हेरफेर हुने छैनन् । निजी क्षेत्रले सामूहिक रुपमा केही माग लिएर आए सम्बोधन गर्न सरकार तयार छ”, अर्थमन्त्री पुनले भने ।

कुनै उद्योगी, व्यावसायिक घराना र व्यक्तिलाई सहयोग पुग्ने गरी बजेटबाट कर नीतिमा केही संशोधन नहुने अर्थमन्त्री पुनको भनाइ थियो । केही समयअघि अर्थतन्त्रमा नकारात्मक परिदृष्य देखिएकोमा अहिले लय पक्रिएको भए पनि सुधार भयो भन्दैमा हौसिएर धेरै चिज गर्नसक्ने अवस्थामा सरकार नरहेको उनले स्पष्ट पारे ।

अर्थतन्त्रमा देखिएका समस्याको समाधान खोज्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै उनले सरकार छिटोछिटो परिवर्तन भइरहेपनि राम्रा नीतिको निरन्तरताले नतिजा दिइरहेको अर्थमन्त्री पुनको दाबी थियो ।

“जलविद्युत् क्षेत्रलाई प्रतिस्पर्धी बनाउनमा विगतका सरकारको नीतिको निरन्तरताले अहिले नतिजा देखाउन थालेको छ । अरु देशको भन्दा नेपालका बैंक तथा वित्तीय संस्था तुलनात्मक रुपमा राम्रा छन् । होटल क्षेत्रमा वृद्धिदर राम्रो देखिएको छ । यद्यपि, सरकारको खर्च नगर्न नसक्दा निर्माण क्षेत्रमा केही समस्या छ”, उनले भने । नेपालमा सूचना प्रविधि क्षेत्रको राम्रो सम्भावना देखिएको र आगामी पाँच वर्षमा वार्षिक रु पाँच खर्बको सेवा निर्यात गर्नसक्ने अवस्थामा सूचना प्रविधि क्षेत्र पुग्नसक्ने उनको भनाइ थियो ।

आफू मन्त्री भएर आएपछि बजारलाई चलायमान बनाउन करिब रु ७० अर्ब बराबर रकम बजारमा पठाइएको पनि पुनको दाबी छ । त्यस्तै, प्रक्रिया पुर्याएर आएका निर्माण व्यवसायीको रकम भुक्तानी भइरहेको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:५०