१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य जरुरीः प्रधानमन्त्री प्रचण्ड


२८ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य संवाहक रहेको र आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गरिरहेको बताएका छन् ।

आज आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणासभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई सङ्कटबाट मुक्त गर्दै विकासको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने सङ्कल्पका लागि आह्वान गरे । लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । राज्य र निजी क्षेत्रबीच सहकार्यका आधारहरु समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सरकार दृढ रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

त्यस्तै, लगानी बढाउन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रले देशमा उत्पादन बढाउनुका साथै आवश्यक वस्तु तथा सेवाको आपूर्तिका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको उनले बताए । तीनवटै तहका सरकारले नीति निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

नेपालले सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नेगरी अघि बढिरहेकोमा सबै क्षेत्रको सहकार्यमा द्रुत र सन्तुलित विकासका लागि सरकार केन्द्रित भइरहेको पनि उनले बताए ।

मुलुकको विकास आकांक्षा पूर्ति गर्नका लागि सरकार र निजी क्षेत्र दुवै क्षेत्रबाट हुने लगानी बढाउन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताए । आगामी वैशाखमा हुने लगानी सम्मेलन आयोजना गर्ने तयारी सरकारले गरिरहेकोमा सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस् तयारीसहित अगाडि बढिरहेको पनि दाहालले बताए ।

“देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, सोच, संरचना र कार्यशैलीमा धेरै सीमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकुल देखिएका ऐन संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाको तयारी गरिरहेको छ । यसले लगानीका नयाँ क्षेत्र पहिचानसँगै लगानी भित्र्याउन सहयोग गर्ने अपेक्षा हामीले गरेका छौँं”, प्रधानमन्त्री दाहालले भने ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गएको र त्यसको गति विस्तारै बढ्दै जानेमा प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । “अर्थतन्त्रका आन्तरिक र बाह्य सूचक सकारात्मक बन्दै गएका छन् । वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता, घट्दो ब्याजदर एवम् अर्थतन्त्र चलायमान बनाउन चालिएको केही कदमका कारण पर्यटक आगमन बढेको, विदेशी मुद्राको सञ्चिति, विप्रेषणलगायत सूचक सकारात्मक बन्दै गएका छन्”, प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक हुँदै जानु पक्कैपनि हामी सबैलाई लागि खुसीको कुरा हो । यद्यपि राष्ट्रिय आकांक्षा र आवश्यकताअनुरुप अर्थतन्त्रले अपेक्षित गति लिन भने अझै सकेको छैन ।”

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:४१