२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम ‘सर्टलिस्ट’ देखि यस्ता छन् प्रमुख आर्थिक समाचार


धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम ‘सर्टलिस्ट’

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सर्टलिस्टमा परेका हुन् ।

यीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।

अब समितिले अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ ।

सुन मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३६ हजार नाघ्यो

 पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले सोमबार नयाँ उचाई कायम गरेको छ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ ।

याे सुनकाे मूल्य हालसम्मकै उच्च हाे । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ग्राहकलाई कर्जामा प्रदान गरिने छुट

एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले बैंकले २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा ब्याज छुटको योजना ल्याएको हो ।

सम्वन्धित ऋणीले २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न कमसल याेजनामा १० प्रतिशत, शंकास्पद याेजनामा १५ प्रतिशत र खराव याेजनामा २० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको बैंकले जनाएको छ ।

मासिक तथा त्रय मासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्त रहितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनएको छ । बैंकले ल्याएको यस छुटयोजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकमहानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

एन आईसी एशिया बैंकले मुलुकभर ३६०शाखा कार्यालयहरू, ६७० एटिएम, ११७वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

 कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा उपलब्ध भएको सहभागीहरुले बताएका छन् । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा आइतबार सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे ।

उनीहरुले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शङ्करप्रसाद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बिमा गर्न आग्रह गरे।

स्वास्थ बिमा बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभरि गत वर्ष १६ अर्ब र चालु वर्षको ८ महिनाको अवधिमा ४ पटक गरी ८ अर्ब रुपैयाँ सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बिमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या ४ लाख ४४ हजार ९ सय ११, कूल बीमित जनसंख्या २३ लाख ९ हजार ८ सय ५५ जना (४७ प्रतिशत), सेवा लिने बीमितको संख्या ११ लाख ३ हजार ४ सय ३४ जना (४८ प्रतिशत) छ । यस्तै, नवीकरण गर्ने बीमित संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डले उल्लेख गरेको छ ।

प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक ४ र निजी २२ गरी १ सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध रहेका छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार ४ सय ५३ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेका छन् ।स्वास्थ्य बिमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तर मान्यता

हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताइन् । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिइन् ।

होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताइन् । उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाइन् । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उनले भनिन् ।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताए ।

“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो । उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उनले भने ।

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताए । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भने।

यस समूहमा हाल १२ जना छन् । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १८:१७