२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि


२५ चैत, काठमाडौं । नेपालले भारतमा एसएमएस फ्रेन्डसिप सिरिज २०२४ को उपाधि जितेको छ। आइतबार गुजरातमा भएको फाइनलमा घरेलु टिमलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो।

गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा आज भएको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो । नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो ।

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए । गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १७:५१