१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

धादिङका प्रवीन राजस्व छलीका गाडी र मोटरसाइकलसहित पक्राउ


१६ चैत, काठमाडौँ । राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेँसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १६:३०