१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन


१६ चैत, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो ।
शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।” निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभयो । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उहाँको भनाइ छ ।
कार्कीका अनुसार यस शाखामा रु ५० हजारदेखि रु एक करोडसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १४:५५