१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

माओवादी निकटका तीन व्यवसायी पर्यटन बोर्डको सदस्यमा नियुक्त, कमल उपाध्यक्ष बन्ने


१५ चैत, काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्र निकटका तीन व्यवसायी पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिफारिस गरेका पाँच जना मध्येबाट माओवादी केन्द्र निकटका तीन व्यवसायी बोर्डको सदस्यमा नियुक्त भएका हुन ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले रामप्रसाद (कमल) सापकोटा, ऋषिराम भण्डारी र राजेन्द्र लामालाई सदस्यमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङका स्वकीय सचिव रूपक तामाङले दैनिकीलाई जानकारी दिए ।

विगतमा मन्त्रीस्तरीय निर्णयबाट बोर्डको सदस्य नियुक्त गर्ने परम्परा भए पनि पर्यटनमन्त्री तामाङले मन्त्रिरिषद्मा लगेर बोर्डको सदस्य नियुक्त गरेका छन । बोर्डको सदस्यमा नियुक्त भएका तीन मध्ये कमल सापकोटा उपाध्यक्ष हुने सम्भावना रहेको छ ।

पर्यटन क्षेत्रमा माओवादीको अशल संगठक भनेर चिनिएका कमल उपाध्यक्ष बनाउने समझदारीपछि बोर्डको सदस्य हुन राजी भएको स्रोतले बताएको छ । सदस्यमा नियुक्त भण्डारी प्रधानमन्त्रीको गाउँले हुन भने लामा टानका पूर्व महासचिव कर्णबहादुर लामाका सहोदर भाइ हुन । सदस्यमा नियुक्त तीनै जना पर्यटन व्यवसायका परिचित अनुहार हुन ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार २०:३७