१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय


१५ चैत, काठमाडाैँ । गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । चैत १४ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकमा लामो समयदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई आगामी बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर उपाध्याय बैंक स्थापनाकालदेखि कार्यरत रहनुका साथै १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनर प्राध्यापन पेसामा संलग्न थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ देखि रिक्त हुने पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सीईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।

सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत १५ देखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १२:२३