१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्यान्डविरुद्ध नेपालको सहज जीत


१३ चैत, काठमाडौं । दोस्रो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । मंगलबार भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै नेपालले सिरिज २-० ले जितेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटियो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए । बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १६:५२