१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

आयरल्याण्डविरुद्ध नेपालको ६ विकेटको सहज जीत


१२ चैत, काठमाडाैँ ।  आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले सहज जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा ३७ रन बनाए

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे । गुल्सन झाले ४ रन बनाए । बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक/ एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल बनाएको थियो ।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे । त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई /दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक ÷एक विकेट लिए । नेपालले आइरल्याण्डको ए विरुद्धको भोलि दोस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १६:१५