१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

बहुमूल्य पत्थर किन्ने भन्दै चोरेर भागेका पत्रकार आश्विन दानीसहित तीन जना पक्राउ


११ चैत, नुवाकोट । नुवाकोटको विदुरबाट बहुमूल्य पत्थर चोरेर भागेका पत्रकार आश्विन दानीसहित तीन जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले बहुमूल्य पत्थर ३५ लाखमा किन्ने भेर चोरेर भागेका पत्रकार दानीसहित दानीसहित तीन जनालाई काठमाडौँबाट पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनीहरू चैत ४ गते काठमाडौँको बालुवाटारबाट पक्राउ परेका हुन ।

पक्राउ परेका गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी जनचासो मिडिया म्यानेजमेन्ट प्रा.लि.ले सञ्चालन गरिरहेको जनचासो टाइम्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन । विगतमा नेकपा एमाले निकट रहेर काम गरेका दानी पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी निकट भएर काम गरिरहेका थिए । त्यस्तै पक्राउ पर्ने अर्कोमा गोरखाकै भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेका छन भने अर्का कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनार रहेका छन ।

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु किन्ने भनेर ३५ लाख रूपैयाँ मूल्य तोकेपछि दानीसहितको समूहले उक्त सामान चोरेर भागेको थियो । फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ तुप्चे माथिको महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । उनीहरूले तामाङलाई माला किन्ने भनेर मूल्य तोकेपछि सामान लिएर भागेका थिए ।

चन्द्रबहादुरले प्रहरीकोमा खबर गरेपछि प्रहरीले उनीहरूलाई बालुवाटारबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँगै किन्ने भनेर चोरिएको मुगाको माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद गरेको छ । अहिले उनीहरुबिरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको खड्काले बताएका छन ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १२:३३