१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लुम्बिनीमा अनलाइन टिकट प्रणाली आरम्भ


१० चैत, लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकका लागि शनिबारदेखि अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले शनिबार सो कार्यको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गर्नुभयो । उहाँले यस कार्यले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अनलाइनमार्फत टिकट काट्ने कार्यले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पर्यटकहरु लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताउनुभयो । लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी’ लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ । इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १६:५२