१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


८ चैत, काठमाडौँ ।  ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ रहेका छन् ।

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १७:१७