१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

छोराका लागि जापान पैसा पठाउन काठमाडौँ आएका नुवाकोटका शालिकराम घिमिरे वेपत्ता


७ चैत, काठमाडौँ । छोराका लागि जापान पैसा उठाउन काठमाडौँ आएका नुवाकोटका शालिकराम घिमिरे हराएका छन । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खु स्थायी घर भएका ५३ वर्षीय शालिकराम घिमिरे यही चैत ५ गते बिहान काठमाडौँबाट हराएका हुन । घिमिरे छोराको अध्ययनका लागि जापान पैसा पठाउन र त्यसको व्यवस्थापनका लागि भन्दै चैत ४ गते विदुरबाट काठमाडौँ आएको उनको भाइ एमाले नेता नारायण घिमिरेले जानकारी दिए ।

चैत ५ गते बिहान तारकेश्वर नगरपालिकाको नयाँपुलमामा रहेको कोठाबाट दुध हालेको चिया पिएर आउँछु चोकमा पुगेर भन्दै निस्किएका शालिकराम नफर्किएका हुन । छोरीले कालो चिया बनाएर खान प्रस्ताव गर्दा शालिकराम हैन म दुध हालेको चिया पिएर आउँछु भन्दै चप्पल लगाएर निस्किएका थिए । तर उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । शालिकराम हराएपछि परिवारका सदस्यले प्रहरी मार्फत खोजीमा सहोग गरिदिन सबैमा अपिल गरेका छन ।

परिवारका सदस्यका अनुसार काठमाडौँबाट हराएको भोलिपल्ट घिमिरे चितवनको देवघाटको झोलुङ्गे पुलमा नुवाकोटकै एक व्यक्तिले शालिकरामलाई देखेको बताएका छन । उनको भनाइ अनुसार प्रहरीले सीसीक्यामेरामा हेर्दा उनी चितवन पुगेको पुष्टि भएको छ । त्यसपछि शालिकराम कता गए भन्ने बारेमा प्रहरी र परिवारले केही पत्तो पाउन सकेको छैन । सीसीटीभी हेर्दा तनहुँको भूभागमा रहेको देवघाटको मन्दिर दर्शन गरेर शालिकराम चितवनतर्फ फर्किएको देखिन्छ । त्यसपछि भने उनको अवस्था अज्ञात रहेको छ । शालिकरामका भाइ नारायणले खोजीमा सहयोग गरिदिन सबैसमु अपिल गरेका छन ।

रातो वर्ण भएका ५ दशमलव ६ फिट उचाइका शालिकरामले खैरो ज्याकेट र कालो पाईन्ट अनि ढाका टोपी लगाएका छन । नारायणले शालिकराम भेटिएममा मोबाइल नम्बर ९८५१०४५४१४ वा  नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेका छन । उनले घरबाट हिँड्ने बेलामा मोबाइल समेत नबोकी हिडेको परिवारका सदस्यले बताएका छन ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार २०:५६