१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

भौतिक पूवार्धारमा अब्बल बन्दै शुक्लाफाँटा


३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले १२ वडामध्ये १० वटामा नयाँ कार्यालय भवन निर्माण गरेको छ । संविधानको मर्मअनुसार वडास्तरबाट नै सर्वसाधारणलाई सहजरुपमा सेवा उपलब्ध गराउनका लागि भौतिक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।

नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर दिपक धामीका अनुसार वडा नं १, २, ३, ५, ६, ७, ८, ९, ११ र १२ मा नयाँ भवन निर्माण गरिएका हुन् । वडा नं ४ मा रु एक करोड एक लाखको लागतमा सुदूरपश्चिम प्रदेशको समपूरक र तराई–मधेस समृद्धि कार्यक्रमको साझेदारीमा तीनतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । हाल उक्त कार्यालयको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।

“वडा नं ९ र ६ मा नयाँ भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा सञ्चालन भइरहेको छ”, इञ्जिनियर धामीले भन्नुभयो, “चाँडै भवन उद्घाटन गर्ने तयारी भइरहेको छ ।” उहाँका अनुसार वडा नं २ र ३ मा भवन उद्घाटन भइसकेको छ ।

नयाँ निर्माण भएका भवनमा शौचालय, मिटिङ तथा कार्यालय कक्ष, वडाध्यक्ष र सचिवका छुट्टाछुट्टै कक्ष रहेका धामीले जानकारी दिनुभयो । सेवाग्राही बस्नका लागि आवश्यक फर्निचरसँगै विद्युत्, खानेपानीको उचित व्यवस्था गरिएको उहाँको भनाइ छ ।

“सेवाग्राहीलाई मालपोत बुझाउन विगतमा नगरपालिका कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो”, नगर उपप्रमुख कल्पना पन्तले भन्नुभयो, “हाल कार्यालयमा इन्टरनेटको व्यवस्था भएकाले वडाबाटै मालपोत बुझाउन सकिने भएको छ ।” योसँगै पञ्जीकरण तथा भूमि जाँचको काम पनि इन्टेरनेटमार्फत वडाबाट हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

वडा नं १० मा पुरानो नगरपालिका कार्यालय रहेको भवनबाट तत्कालका लागि कार्य सञ्चालनको व्यवस्था गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । नयाँ भवन निर्माणका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

वडा कार्यालय सुविधा सम्पन्न भए पनि कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ । केही कार्यालयमा सचिव, खरिदार र कम्प्युटर अपरेटरलगायत कर्मचारीको अभाव रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भाडाको एउटा कोठाबाट सहज सेवा दिन समस्या भइरहेकामा अहिले प्रभावकारी बन्दै गएको बताउनुभयो । “यसअघि सेवाग्राहीलाई ३८ किसिमका सेवा दिन सहज थिएन । पहिलो कार्यकालमा नयाँ भवन बनाउन सम्भव नभए पनि दोस्रो कार्यकालमा भवन निर्माणसँगै सेवा सञ्चालन सहज हुँदै गएको छ ।”

वडा कार्यालयका भौतिक संरचना निर्माणसँगै एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकाले मुख्य प्रशासनिक भवनसमेत निर्माण गरी सेवा सञ्चालन गर्दै आएको छ । वडामा सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । केही वडामा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भइसकेका छन् भने केहीमा निर्माणाधीन रहेका नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर धामीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १४:३९