१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बेलकोटगढीलाई प्रांगारिक कृषि उत्पादनको हब बनाउँदै छौँः प्रमुख गुरूङ


-सिर्जना सिकारी

१ चैत, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ । बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङले दैनिकीसँग कुरा गर्दै पालिकाले हरेक वडालाई कृषिको पकेट क्षेत्र बनाएर काम गर्न लागिएको जानकारी दिए । उनले कृषिको फरक फरक उपजका लागि हरेक वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानसँग मिलेर काम गर्न लागिएको जानकारी दिए ।

बेलकोटगढीको जमिन भिरालो, सुर्कासुर्की रहेको भए पनि कृषिका लागि उपयुक्त रहेको प्रमुख गुरूङको भनाइ छ । कृषि पेशा व्यसायिक हुँदै गएको भनिए पनि बहुसंख्यक किसानले जिबीकोपार्जनका लागि काम गर्दै आएका छन । उनीहरूको मुख्य काम खेतबारीमा अन्न उब्जाउने रहेको छ । पछिल्लो समय धेरैले आम्दानीको प्रमुख स्रोत कृषिलाई बनाएको बताउँदै प्रमुख गुरूङले दैनिकीसँग भने, ‘यहाँ रहेका जनता तथा किसानहरुले आफ्नो जिबीकोपार्जन गर्नको लागि विभिन्न किसिमका मलजल गरि खेतबारीमा अन्न उब्जाउ गर्छन् । उनीहरुको आम्दानीको रुपमा पनि खेतीलाई नै लिने गरेका छन । यहाँका नागरिकको मुख्य आयस्रोत भनेको नै कृषि पेशा नै हो ।’

नगरप्रमुख गुरूङले स्वस्थ खानेकुार उत्पादनका लागि पहिचानसहितको उत्पादन भन्ने नारा नै बनाएको बताए । उनले अर्गानिङ उत्पादनका लागि बिउ पनि अर्गानिङ बनाउने गरी काम भैरहेको बताए । बन्यजन्तुले कृषि उत्पादनमा क्षति पुर्याउँदा पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताउँदै उनले किसनका लागि राहत दिन स्थानीय सरकारले विशेष काम गरिरहेको बताए । उनले विभिन्न फरक खालका कृषि उत्पादनको परीक्षण गरिरहेको र त्यस्ता उत्पादन विदेश निर्यातका लागि समेत काम हुने बताए ।

नगरप्रमुख तामाङले बेलकोटगढीका झण्डै ९० प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेको बताए । उनले किसानले गर्दै आएको काममा आधुनिक प्रविधिको प्रयोग गरेर कृषिलाई व्यवसायिक बनाउन हरेक वडालाई एउटा पकेट क्षेत्र मानेर काम गर्न लागेको बताए । उनले अब बेलकोटगढी नगरपालिकामा कृषि उत्पादनको गुणात्मकतालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिइने र हरेक वडामा उत्पादन भएका कृषि उपजको स्थानीय सरकारले ब्राण्डिङ गर्ने बताए ।

उनले प्रांगारिक कृषि खेतीमा जोड दिँदा गुणस्तरीय उत्पादन बढाउन सकिने पनि बताए । उनले विस्तारै बेलकोटगढीमा रसायनिक मलहरूको प्रयोग हटाउँदै लगिने पूर्ण प्रांगारिक खेतीका लागि बेलकोटगढीलाई नमुना बनाइने दाबी गरे । उनले किसानले थोरै उत्पादन गरे पनि धेरै मूल्य प्राप्त गर्न सक्ने गरी स्थानीय सरकारको समन्वयमा बजारिकरणको काम गरिने समेत बताए ।

नगरप्रमुख गुरूङसँगको दैनिकीको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छः

क्षेत्रफलको हिसाबले भक्तपुर जिल्ला भन्दा पनि ठूलो रहेको बेलकोटगढीमा हाल ४६ हजार भन्दा बढी जनसंख्या रहेको छ । १५५.६ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बेलकोटगढी नेपालकै कान्छो मध्येको एक नगरपालिका हो । बेलकोटगढीमा १३ वडा रहेका छन । साविक गाविसहरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुरका केही वडा समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट बेलकोटगढीको नाम राखिएको थियो । बेलकोटगढी नगरपालिकामा अहिलेको सरकार दोस्रो हो ।

पूर्वमा ककनी गाउँपालिका, पश्चिममा तारकेश्वोर गाउँपालिका र धादिङ जिल्ला उत्तरमा विदुर नगरपालिका, लिखु गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला रहेको छ । बेलकोटगढीमा कृषिलाई मुख्य पेशाको रुपमा अंगाल्दै आएका किसानको बसोबास रहेको छ । अन्न, दुध, मासु र तरकारीमा आत्मनिर्भर रहेको बेलकोटगढीमा कृषिको व्यवसायिकीकरणको काम एक दशकदेखि हुँदै आएको छ ।

ऐतिहासिक र प्रशिद्ध बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल र पर्यटकीय क्षेत्र, चर्चित शक्तिपिठ कैलावती देवी यस नगरपालिकाम रहेका छन । कृषि पर्यटन सहितको पूर्वाधार विकासको मुल आधार भन्ने मुख्य उद्देश्यको रुपमा यहाँका जनप्रतिनिधिले काम गरिरहेका छन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १३:२३