२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

२० हजार घुससहित प्रहरी सहायक निरीक्षक र वरिष्ठ हवल्दार पक्राउ


२८ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ ।

व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १८:०६