१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ललितकला प्रदर्शनीमा युवाको आकर्षण


२६ फागुन, लुम्बिनी । बुटवल उपमहानगरपालिका–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्वपूर्ण हुने बताउनुहुन्छ ।

बुटवलमा सञ्चालित लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा अवलोकनका लागि आउनुभएका तरामुले कलाले समाजका हरेक पक्षलाई उजागर गर्ने र तथ्य स्पष्ट पर्ने भएकाले चित्रकलाको सन्देश महत्वपूर्ण हुने बताउनुभयो । प्रदर्शनीमा राखिएका विविधखाले चित्रकलाको अवलोकनले आफूमा पनि चित्रकलाको चासो र ज्ञान बढेको उहाँले बताउनुभयो ।

बुटवलस्थित रुपन्देही उद्योग सङ्घको सभाकक्षमा यही फागुन २२ गतेदेखि आयोजना गरिएको प्रदर्शनी अवलोकनका लागि आउने दर्शक सबै तहका रहे पनि युवा तथा विद्यार्थीमा चासो र जिज्ञासा बढी देखिएको छ । बौद्धिक वर्गले विष्लेषणात्मकरुपले अध्ययन गर्ने गरेको आयोजकले जनाएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सञ्चालित प्रथम लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा सन्देशमूलक कलाकृति राखिएका छन् ।

दर्शकले हेर्दा स्पष्ट बताउन सक्ने खालका महत्वपूर्ण र ऐतिहासिक तस्बिर प्रदर्शनका लागि राखिएका प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख तथा प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार हालसम्म करिब १५ हजारभन्दा बढी व्यक्तिले प्रदर्शनीको अवलोकन गरेका छन् ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका एक सय २४ कलाकारबाट निर्मित दुई सय कलाकृति राखिएका संयोजक महतोले बताउनुभयो । अवलोकनका लागि आउने हरेकले कलाकृति हेर्दै सकारात्मक प्रतिक्रिया तथा सुझाव दिएका उहाँको भनाइ छ ।

संयोजक महतोले दर्शकले ललितकला प्रदर्शनी मानव सभ्यता र विकासका लागि अतिमहत्वपूर्ण भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारले सङ्ग्रहालय बनाउनुपर्ने सुझाव दिनुभयो ।

प्रदर्शनीमा कवि गोष्ठी तथा कलासम्बन्धी अन्तक्र्रिया, विद्यालयस्तरीय चित्रकला कार्यशाला एवं प्रदर्शनी, विद्यार्थीबीच मूर्ति बनाउने प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको थियो । यस्ता खालका प्रदर्शनीले पढ्ने विद्यार्थी र कलासम्बन्धी खोज अनुसन्धान तथा जिज्ञासा राख्नेलाई लाभदायी र प्रेरणा योग्य हुने प्रदर्शनीका सहआयोजक तथा नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले बताउनुभयो ।

यस्ता प्रदर्शनीले यस क्षेत्रको कलाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार गर्नुका साथै कलाकारको सम्मान पनि हुने प्रदेश समन्वय समितिका सदस्य सचिव एचबी रम्तेलले बताउनुभयो । उहाँले प्रतिष्ठानले सातै प्रदेशमा ललितकलाको प्रदर्शन गरेको भन्दै प्रादेशिक प्रदर्शनबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय ललितकला प्रतिष्ठानमा समावेश गरिने जानकारी दिनुभयो ।

उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार, उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारलगायत विभिन्न विधामध्येबाट एक जनालाई रू ५० हजार पुरस्कार प्रदान गरिनेछ ।

चित्रकला विधामा परम्परागत र समसामयिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला, हस्तकला, लोक कला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका विधामध्येका विजेतालाई रू ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिलाई आगामी २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रतिष्ठानमा सहभागी गराई सातै प्रदेशबाट कलाकृतिबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्टलाई रू एक लाख नगद र विधागत उत्कृष्टलाई रू ६० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १८:३३