१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्ः ‘रङ्गेली रहस्यमयी नाम हो’


२५ फागुन, काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’ देशभर रिलिज भएको छ । बुधवार भएको प्रिमियर शो बाट प्राप्त प्रतिक्रियाले अर्जुन दङ्ग छन् ।

अर्जुनका अनुसार ‘रङ्गेली’ रहस्यमयी नाम हो । उनी कसैले यसलाई रङ्ग, कसैले चराको नाम र फूलको नामसँग तुलना गर्छन् । पूर्वी नेपालमा जन्मिएका उनले आफ्नै भेगको कथालाई चलचित्रमा समेटेको बताए । ‘मैले चलचित्रका लागि जुन कथा रोजेँ, त्यो कथा त्यही क्षेत्रतिर भन्दा अलिकति राम्रो देखिएला जस्तो लागेर ‘रङ्गेली’ रोजेको हुँ । चलचित्रको कथा पुरै काल्पनिक छ, तर चलचित्रसँग जोडिएका केही चरित्रहरू भने ‘रियालिस्टिक क्यारेक्टर’ हुन् । ती चरित्र रङ्गेलीका भने होइनन् । कुनै चरित्र पथरी त कुनै चरित्र विराटनगर र विराटनगर पारिका छन्’, उनी भन्छन् ।

अर्जुन चलचित्र ‘रङ्गेली’लाई ग्याङस्टर मात्र नभई एउटा पात्रको ‘इमोसनल जर्नी’ मान्छन् । ‘त्यो पात्र दयाहाङ राईले निर्वाह गर्नुभएको छ । उहाँको इमोसन प्रस्ट देखाइएको छ । त्यो बिचमा उहाँले भोग्ने र बाँच्ने आधार बनाउन तथा एउटा ठाउँमा आफ्नो छाप छोड्नका लागि गर्ने गतिविधिहरू देखाइएको छ । त्यो बाटो अर्थात् ग्याङस्टरको बाटोले उहाँको जीवनमा आइपर्ने उतारचढाव यसमा छ’, अर्जुन भन्छन् ।

त्यसो त अर्जुनले फिल्म लेखिरहँदा उनलाई प्रेमकथा दिमागमा नआएको होइन । नेपाली चलचित्र क्षेत्रमा पछिल्ला वर्षमा प्रेमकथाका चलचित्र कमै आइरहँदा उनले प्रेमकथालाई अगाडि बढाउने विचार गरेका थिए । तर उनले प्रेमकथालाई छोडेर कमेडी कथा लेखे । त्यो स्क्रिप्ट केही कलाकारले पनि पढे ।

‘तर कमेडीकै लहर आइरहेको बेलामा मैले पनि त्यही ल्याएँ भने म पनि त्यही रुमल्लिन्छु वा तुरुन्तै हराउँछु कि जस्तो लागेर ग्याङस्टरको कथा रोजेँ । किनकि मलाई आफ्नो छाप पनि छोड्नु थियो’, उनी भन्छन् । अर्जुनका अनुसार उनी ग्याङस्टर जनराको कथा राम्रोसँग भन्न सक्नेमा ढुक्क थिए । ‘किनभने कमेडीमा मभन्दा पनि बादशाह यहाँ हिँडिरहनुभएको छ । त्यसमै हराएँ भने अर्को आयो, गयो थाहै हुँदैन । कमसेकम ‘रङ्गेली’ अहिले नोटिस त भइरहेको छ । नेपालमा नयाँ जनराको खाँचो पनि छ । किनभने राजनीतिक कमेडीभन्दा अरू केही आएको छैन’, अर्जुनले भने ।

अर्जुनले ‘रङ्गेली’को कथा लेखिरहँदा उनको दिमाग कोही पनि कलाकार आएका थिएनन् । अर्थात् उनी ‘ब्ल्याङ्क’ थिए । कथा लेखिसकेपछि मात्र उनले कलाकार को हुन सक्छन् भनेर सोच्न थाले । ‘मैले वीर विक्रम, लप्पन छप्पन र प्रसाद २ को ट्रेलर र चलचित्र हेरेपछि अर्पण थापालाई लिने निर्णय गरेँ । उहाँ शान्त किसिमको हुनुहुन्छ । त्यसपछि मिरुनासँग कुरा भयो । उहाँकै अनुरोधमा स्क्रिप्टमा केही ‘रिराइट’ भयो । हामीले दयाहाङ दाइले अर्कै क्यारेक्टरको अफर गरेका थियौँ । तर अहिले निभाएको क्यारेक्टर चुनौतीपूर्ण लागेपछि उहाँकै इच्छा अनुसार अहिलेको क्यारेक्टर दियौँ । दयाहाङ जस्तो मान्छेले अहिले निभाइरहेको क्यारेक्टर गर्छु भनेपछि नाइँ भन्ने कुरा नै आएन । त्यसपछि प्रवीणजी पनि जोडिनुभयो । यीबाहेक अन्य प्रमुख क्यारेक्टरमा डेब्यू कलाकार नै हुनुहुन्छ’, उनी भन्छन् ।

आफ्नो चलचित्रमा नाम चलेका कलाकार भएपछि अर्जुन सुटिङको फस्ट टेकमा ‘नर्भस’ पनि भएका रहेछन् । ‘किनभने ठुला कलाकारसँग काम कस्तो हुने, के हुने भन्ने थियो । तर काम गर्दै गएपछि सजिलो भयो । हाम्रो उमेर पनि उस्तै उस्तै भएको हिसाबले साथीजस्तो भइयो । मैले आफ्नो भिजन भन्थेँ, उहाँहरूले यसरी गर्न सकिन्छ भन्नुहुन्थ्यो’, उनले भने ।

चलचित्र ‘रङ्गेली’ पाँच सेड्युलमा पुरा भएको थियो । खास गरी चलचित्रका प्रमुख कलाकार दयाहाङ राईको व्यस्तताले पनि सुटिङको समयावधि लम्बिएको थियो । ‘नेपाली चलचित्रका व्यस्त कलाकार लिएपछि उहाँको व्यस्ततालाई हामीले बुझेका थियौँ । हामीले गर्मीदेखि जाडोसम्म काम गर्‍यौ । हामीलाई रिलिज डेट नजिकिँदै छ, चाँडो सक्न पाए हुन्थ्यो भन्ने थियो । तर हामीले सक्यौँ । पाँच सेड्युलमा काम गर्दा सिक्वेन्स बिग्रिएन’, अर्जुन भन्छन् ।

अर्जुनले रङ्गेलीको ४१ – ४२ डिग्रीसम्मको गर्मीमा काम गर्दा निकै सकस भएको सुनाए । ‘किचनका भाइहरू बेहोस नै हुनुभयो । हामी पनि झन्डै झन्डै ढलिसकेका थियौँ । लुगा भिजेर सुक्ने अवस्था थियो’, उनले भने । चलचित्रको सुटिङ गर्दा अर्जुनलाई लागेको चुनौती यसको क्यानभासकै रहेछ । आफूले खोजे जस्तो लोकेसन नपाएपछि उनले रङ्गेली बाहिर गएर पनि सुटिङ गरेका रहेछन् ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०९:४०