१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

‘रङ्गेली’का ब्ल्याक ह्याट अर्पण भन्छन्ः भगवान् दादा शक्तिशाली मानिस हो


१७ फागुन, काठमाडौं। उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन । विशेषतः चलचित्रमा उनलाई ‘ब्ल्याक ह्याट’ अर्थात् खलनायक चरित्रमा दर्शकले मन पराइरहेका छन् ।

अर्पण यही फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’मा ‘भगवान् दादा’ नामक ‘ल ब्रेकर’ ग्याङ्स्टर चरित्रमा देखिँदै छन् । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् । रङ्गेलीको भूमिकाबारे चर्चा गर्दै थापा भन्छन्, “भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो । मैले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ । म रङ्गेलीको मुख्य प्रोटागोनिस्ट हुँ”, उनले भने ।

‘भगवान् दादा’लाई उनले ‘टिपिकल भिलियन’का रूपमा चित्रण गर्छन् । “यस्तै क्यारेक्टर मलाई मन पर्छ । किनभने यसमा अलिक बढी भेरिएसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर यो चलचित्रमा भने मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ । एक तहमा मेरो लुक्स केही फरक छ”, अर्पण भन्छन् ।

अर्पणले चलचित्रको तयारी गर्दा धेरै पटक लुक टेस्ट गर्नु परेको थियो । कुन किसिमको पहिरन लगाउने भन्ने विषयमा घनघोर छलफल पनि भएको थियो । “अनौठो कुरा के भयो भने लुक टेस्ट गरेपछि लुगामा आइसक्दा हाम्रो लागि अर्कै किसिमको पहिरन बन्यो । मैले सेटमा धोती र कालो सट लगाएर फस्ट सुट गरेका थिएँ । त्यो लुगा सबैले मन पराएपछि पहिरन परिवर्तन नगर्ने निर्णयमा पुग्यौँ । मेरो चरित्रका लागि चार वटा कोट र पाइन्ट तयार पारिएका थिए । ट्रेलरमा देखिएको कालो र सेतो रङ्गको पहिरनले मेरो चरित्रलाई ‘जस्टिफाई’ गर्‍यो”, अर्पण भन्छन् । रङ्गेलीमा यो चलचित्रको छायाङ्कन भइरहँदा अर्पणले स्थानीय पुरुषले लगाएका पहिरनमा पनि ध्यान दिएका रहेछन् । “रङ्गेली तिरका मान्छेले दैनिक रूपमा धोती लगाइरहेका हुन्छन् । धोतीलाई अलिकति पैसा भएका मान्छेले मात्र लगाउने लुगा लगाइने भन्ने हुँदो रहेछ,” उनले अनुभव सुनाए ।

मान्छेहरू ग्याङस्टर किन बन्छन् त ? यसमा अर्पणको बुझाई अलिक फरक छ । “ग्याङस्टर बन्ने भन्दा पनि बनाउने हो । समाजले अथवा यदि म त्यो वातावरणमा बच्चैदेखि विकसित भइरहेको छु भने त्यो भन्दा बढी बाहिर सोच्दिनँ । त्योभन्दा बाहिर बन्ने हैसियत मेरो छैन भने कमजोरीको स्तरले सो बाटोमा ढल्किन सजिलै जाँदो रहेछ । तर यदि त्यो ठाउँमा तपाईँ विज्ञ भएर बस्नुभयो भने तपाईँको त्यही विषयमा प्रोफेसन हल्का परिवर्तन गर्न खोज्दा रहेछन्,” उनी भन्छन्, “जस्तो कि भगवान् दादा पनि बिस्तारै आफ्नो इमेज छोडेर राजनीतिमा लागे जस्तै वास्तविक जीवनमा ग्याङस्टरले गर्ने त्यही हो । नेपाल होस् या संसारको कुनै पनि कुनामा होस्, यो चलन नै हो । पावर भइसकेपछि त्यो पावरलाई युज गर्ने ठाउँ नै राजनीति हो । सही ढङ्गले प्रयोग गर्‍यो भने समाजमा टिक्ने सम्भावना बढी हुँदो रहेछ । त्यही भएर त्यतातिर ढल्किनु स्वाभाविक हो जस्तो लाग्छ र ढल्केका पनि छन् ।”

अर्पणकै भनाइमा तराईतिरको बसाइमा उनी त्यति भिजेका होइनन् । उनले आफूले स्क्रिप्ट अनुसार आफूलाई तयार पारेका थिए तर, सेटमा पुगेपछि भने केही अदलबदल भयो । “छायाङ्कनमा गएपछि दुईचार वटा कुरा धेरै देखियो । यहाँ यस्तो हुँदो रहेछ भनेर थाहा भयो । यो कुरालाई चाहिँ मान्छेले जिज्ञासाको रूपमा राख्छन् या यो कुरालाई मान्छेले खासै मतलब पनि गर्दैनन् भन्ने कुरा जोडिन थालेपछि त्यही अनुसार क्यारेक्टरलाई केही अदलबदल चाहिँ गर्‍यौँ”, उनी भन्छन् ।

अर्पणले रङ्गेली हेर्दा दर्शक आफ्नो चरित्रमा ‘कनेक्ट’ हुने भन्दा पनि आफ्नो चरित्रको प्रभावमा ‘कनेक्ट’ हुने बताउँछन् । “म चाहिँ भाँडो अथवा गाडी जस्तो भएँ । जसमार्फत दर्शकलाई तलको परिवेश, बसाई, भोगाई, त्यहाँ लगिदिन्छु । म चाहिँ एउटा आधार हो”, अर्पण भन्छन् ।

उनी ‘रङ्गेली’ लाई विधा अनुसारको चलचित्र मान्छन् । “चलचित्रमा एउटा विधा भन्छौँ, तर त्यसको खिचाई, परिवेश फरक पर्दा पर्दै चलचित्र सकिन्छ । तर रङ्गेलीमा चाहिँ मिठो कुरा के छ भने विधा अनुसार नै कथा बगेको छ । विधा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ । चलचित्रका साना–साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्”, उनी भन्छन् ।

अर्पणको अनुभवमा पहिलो ‘छड्के’ पछि विधा विशेष चलचित्र ‘रङ्गेली’ नै हो । उनको भनाइमा यस चलचित्रमा जे कुरा देखाइन खोजिएको हो त्यही अनुसार कथा बनेको छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १२:३८