२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

ऋणीलाई सडकमा पुर्याउने बैंकका दुई सीईओ प्रहरी खोरमा


१५ फागुन, काठमाडौँ । ऋण प्रवाहमा चरम अनियमितता गरेको अभियोग लागेका प्रभु बैंक लिमिटेडका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन । सेञ्चुरी बैंकको सीईओ छँदा उनले ऋण प्रवाहमा व्यापक बदमासी गरेका थिए । कमिसन खाएर ऋण स्वीकृत गर्ने तर खाता रोक्का गरिदिनेसम्मका काममा समेत न्यौपाने आफैँ संलग्न भएको भन्दै उनका विरूद्ध तत्कालीन बैंक व्यवस्थापनमा समेत उजुरी परेको थियो ।

यद्यपी त्यस्ता उजुरी सुनवाइमा व्यवस्थामा कुनै ध्यान दिएको थिएन । न्याैपाने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जा भएका कारण कसैको नजरमा पर्न सकेका थिएनन् ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानेलाई पक्राउ गरेको हो । प्रहरीले सेञ्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतमलाइ पनि पक्राउ गरेको छ । ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा न्यौपाने र गौतमसहित कुल नौ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा अन्यमा सेन्चुरीका तत्कालीन कर्मचारीहरु सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत लगायत रहेका छन । त्यस्तै पक्राउ पर्नेमध्ये प्रभु बैंकका बहालवाला कर्मचारीहरु दिलीप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । कमसल धितो राखेर ऋण प्रवाह गरेका कारण उनीहरू प्रहरी अनुसन्धानमा तानिएका हुन ।

उनीहरूले एक अर्बको धितोमा २ अर्ब बढी ऋण प्रवाह गरेका थिए । उनीहरुलाई बैंकिङ कसुरअन्तर्गतको मुद्दामा हिरासतमा लिइएको र सोही अनुसाकार थप अनुसन्धान र कारबाही हुने सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले दैनिकीलाई जानकारी दिए । पक्राउ परेकाहरूले सेन्चुरी बैंकमा हुँदा कमसल धितो राखेर ऋण प्रवाह गरेका थिए । राष्ट्र बैंकले यसको सुइको पाएपछि सीआईबीलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेको थियो ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक रवीन्द्र चौलागाईंले सहरकारीको रकम हिनामिना गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा चौलागाईंले सहकारीको रकम अपचलनका साथै आफ्ना अन्य चार कम्पनीका लागि कमसल धितोमा सेटिङ मिलाएर विभिन्न बैंकबाट ठूलो रकम ऋण लिएको तथ्य फेला परेको थियो । नेपाल राष्ट्र बैंकको जाहेरीमा न्यौपाने गौतम लगायतकाहरू पक्राउ परेका हुन ।

उनीहरूले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईलाई सेन्चुरी बैंकबाट २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ऋण दिँदा ९९ करोड १९ लाख ६० हजार रुपैयाँ ओभरभ्यालुएसन गराएर दिएका थिए ।सीआईबीले सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । चौलागाईंले सहकारीको रकम अपचलनका साथै आफ्ना अन्य चार कम्पनीका लागि कमसल धितोमा सेटिङ मिलाएर विभिन्न बैंकबाट ठूलो रकम ऋण लिएको सीआईबीले फेला पार्याे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १२:११