२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बेलकोटगढीको व्यथाः जनप्रतिनिधि कमिसनमा मस्त, कार्यसम्पादनमा नगरपालिका ध्वस्त


१० फागुन, नुवाकोट । नुवाकोटको कान्छो नगरपालिका बेलकोटगढी कार्यसम्पादन मूल्यांकनमा पनि जिल्लाको कान्छै नगरपालिका भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बेलकोटगढी अन्य स्थानीय तहको तुलनामा निकै कमजोर देखिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेलकोटगढी नगरपालिका कार्यसम्पादनमा उसले १९.६४ अंक सहित अन्तिम नम्बरमा देखिएको हो ।

नगरपालिकामा अनुशासन कायम गराउने र भएका कामहरूको अनुगमन गरेर भुक्तानी दिलाउने जनप्रतिनिधि शिवप्रसाद दाहालको कमिसन ताकेताको अडियो प्रकरणले केही महिना अघि चर्चामा रहेको बेलकोटगढी फेरि कार्यसम्पादनमा कान्छो भएकोमा चर्चामा देखिएको छ । नगरपालिकामा हुने विकास निर्माणका काममा इन्जिनियर प्रयोग गरेर आफैँ पनि कमिसन मााग्ने र कमिसनमा कुरा नमिली भुक्तानी समेत नदिने गरेको भनेर व्यापक गुनासो नै आइरहेको समयमा उपप्रमुख दाहालको अडियो प्रकरण दैनिकीले नै सार्वजनिक गरेको थियो ।

नगरपालिकाको नेतृत्वले पारदर्शिता अपनाउन नसकेको, भएका अनुभवी कर्मचारी निकालेर कार्यकर्ता भर्ति गरी कार्यालयमा घम तपाएरमात्र तलब दिएको भन्दै नागरिकस्तरमै बिरोध समेत भएको थियो । केन्द्रीय सत्ता गठबन्धनकै जस्तो गरी स्थानीय चुनावमा पनि गठबन्धन गरेर नेकपा माओवादी केन्द्रबाट प्रमुखमा जगतबहादुर गुरूङ र नेपाली कांग्रेसबाट उपप्रमुखमा शिवप्रसाद दाहाल विजयी भएका थिए । धेरै आशा गरिएका जगतबहादुर गुरूङबाट समेत साकारात्मक संकेतहरू नदेखिएको भन्दै कतिपयले निराशा व्यक्त गरिरहेका छन ।

नेपाली कांग्रेस र माओवादीको पार्टीगत द्धन्द्ध बढ्दै जाँदा कार्यकर्ता भर्तीमा सफलता भए पनि बित्त आयोगले नम्बदर दिने सूचक भने कमजोर देखिएको छ । पालिकामा प्रतिपक्षीको भूमिकामा रहनुपर्ने नेकपा एमाले यसअघि नै कार्यपालिकाको चुनवामा गठबन्धनका उम्मेदवारलाई भोट बेचेका कारण शिर उठाएर प्रश्न गर्ने अवस्थामा छैन् ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४५.३७ अंकसहित म्यागङ नुवाकोटमा प्रथम भएको छ । जिल्लाका १२ पालिका मध्ये म्यागङ पहिलो भएको छ । यस्तै ४५.४ अंक प्राप्त गरी लिखु गाउँपालिका दोस्रो, ४३‍.२६ अंक प्राप्त गरी विदुर नगरपालिका तेस्रो भएको छ । ४०.८ अंकका साथ पञ्चकन्या गाउँपालिका चौँथो, ३९.५३ अंकका साथ ककनी पाँचौ भएको छ । त्यस्तै ३८.८४ अंकसहित किस्पाङ छैटौँ, ३७.३३ अंकसहित शिवपुरी सातौँ, ३६.६६ अंकसहित तारकेश्वर आठौँ, ३५.८२ अंकसहित तादी नवौँ, ३०.३ अंकसहित सूर्यगढी दशौँ, २५.८९ अंकसहित दुप्चेश्वर एघारौँ र १९.६४ अंक सहित बेलकोटगढी बाह्रौँ भएको छ ।

आयोगले १७ वटा विभिन्न सूचक बनाएर अंक प्रदान गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।

त्यस्तै आयोगले आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १५:०६