१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जिबी राईका बुटवल पार्टनर पक्राउ, एक अर्ब ठगीको अनुसन्धान हुँदै


४ फागुन, काठमाडाैँ । गितेन्द्रबाबु (जिबी) राईका पार्टनर बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको अभियोगमा उनीहरू माथि अनुसन्धान भैरहेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको जानकारी दिए।

रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरि विगत एकवर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई सम्पर्क विहिन छन्।सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो।

राईले आफु आवद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६०, जिपि ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरि १४ करोड ९९ लाख ५९ हजार ५२०, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा तिनवटा मितिमा ६ पटक गरि १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए।

त्यस्तै राई संचालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न तिनवटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु राईको नाममा तिनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरि ७८ करोड ५० लाख ७६ हजार बढि रकम ऋण लगेका थिए। पाँचवटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनुपर्ने छ। सावाँ र व्याज गरि ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ लिएर राई सम्पर्क विहिन भएका छन्।

त्यस्तै अन्य संचालक तथा विभिन्न ५२ जना ऋणीहरुलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रुपैयाँ पनि सहकारीले उठाउन सकेको छैन। ति ऋणीहरुले पनि व्याज वापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रुपैयाँ बुझाउन बाँकि देखिन्छ। बचतकर्ताहरुको यति ठूलो रकम हिनामिना गरि संरक्षक राई फरार भएपछि बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार २२:५६