१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

‘गलत इतिहास लेख्नु पनि हुन्न, पढ्नु पनि हुन्न, सक्नुहुन्छ भने जलाउनु वा च्यातिदिनू’


-प्रकृति अधिकारी

नेपाल पत्रकार महासङ्घका नेतृत्वकर्ताका बारेमा आज एउटा किताब सार्वजनिक हुने कुरालाई लिएर हिजोदेखि सामाजिक सञ्जालमा देखिएका टीकाटिप्पणीप्रति मेरो व्यक्तिगत धारणा–

१) नेपाल पत्रकार महासङ्घले स्थापना २०१२ साललाई मान्दै आएको थियो । सबै पत्रकारले त्यसैलाई आधार मान्दै आएका थिए । मैले केही वर्षअघि २००८ सालको गोरखापत्रमा प्रकाशित समाचारका दुई बेग्लाबेग्लै कटिङ फेसबुकमा राखेपछि पहिलो नेपाल पत्रकार सङ्घ र संस्थापक अध्यक्षका बारेमा बहस वा विवाद सुरु भएको हो । अहिले पनि त्यही कटिङ बेलाबखत विभिन्नले पोस्ट्याएको देख्छु, खुसी लाग्छ ।

२) त्यो बेला मैले सामाजिक सञ्जालमा गोरखापत्रको समाचार कटिङ पोस्ट गरेपछि कतिपयले मलाई गाली पनि गरे, “किन नेवारको पक्ष लिएको ? बाहुन थिए, तिमीहामीहरुकै जाति, उनलाई मानिरहेका थियौँ । त्यो पोस्ट नगरेको भए हुन्थ्यो ।” म पत्रकारिता गर्न साधारण व्यक्ति हो, जातीगत पत्रकारिता म सोच्न पनि सक्दैन । पत्रकारमा जातिका आधारमा गुट वा संस्था त्यति उचित लाग्दैन । पेसा गर्ने हो, जातको सांघुरो घेरामा सीमित हुनुहुन्न भन्ने लाग्छ । तसर्थ नेपाल पत्रकार सङ्घका पहिलो अर्थात् संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नेवार भए पनि मेरा लागि जातप्रति सरोकार रहँदैन । उहाँ पत्रकार हो, संस्थापक अध्यक्ष हो, बस मेरा लागि उहाँको परिचय । उहाँसँग कार्यरत केकति पत्रकारले संगत गरे वा कुराकानी गरे, थाहा भएन । तर मैले दुई पटक उहाँको कार्यकक्षमा गएर भेट्ने अवसर पाएको थिएँ । गोरखापत्रमा समाचारका सिलसिलामा उहाँसँग भेटेको थिएँ । मानभवनस्थित आदर्श विद्या मन्दिर (एभीएम)मा । सम्भवतः २०५६,५७ सालतिरको कुरा हुनुपर्छ । तर त्यो बेला मलाई उहाँ पत्रकार पनि हुनुहुन्थ्यो भन्ने थाहा थिएन । थाहा हुन्थ्यो भने त्यो बेलाको पत्रकारिताका बारेमा पक्कै कुरा गर्ने थिएँ ।

३) श्री ५ को सरकार प्रचार विभागले छापेको प्रेस कमिसनको रिपोर्ट, २०१५ मा साप्ताहिक अङ्ग्रेजी नेपाल टुडे सत्यनारायणबहादुरद्वारा प्रकाशित हुने गरेको स्पष्ट उल्लेख छ । त्यसमा कमिसनले रिपोर्ट तयार गर्दा छलफलका क्रममा आमन्त्रण गरेकामध्ये कुनै कारणवश उपस्थित हुन नसकेका १८ जनामध्ये १४ औँ नम्बरमा सत्यनारायणबहादुर (प्रोपराइटर नेपाल टुडे प्रेस) उल्लेख छ । यसबाट त्यतिञ्जेल (२०१५ सालसम्म) उहाँ पत्रकारितामा संलग्न भएको पुष्टि गर्दछ ।
सो रिपोर्टको परिच्छेद १४ मा ‘…अहिले नेपालमा दुई पत्रकार संगठनहरु छन्– १) नेपाल जोर्नालिस्टस् एसोसिएसन र २) नेपाल युनियन अफ जोर्नालिस्टस्’ भनी उल्लेख छ । त्यसमा लेखिएको छ, “दुई वटा पत्रकर संघहरु भए तापनि पत्रकार जगतमा यिनको विशेष केही चहल पहल देखिन्न । तर तैपनि बेला बेलामा आइपरेका समस्याहरु समाधान गर्न यी संघहरु प्रयत्नशील भएका देखिन्छन् ।…वर्तमान दुवै संघलाई धेरै हदसम्म पत्रकार संघ नभनी पत्रपत्रिका संघ वा पत्र सम्पादकहरुको संघ भन्न सकिन्छ ।”

४) २०२३ साल असार २७ गते नेपाल पत्रकार संघको अस्थायी समिति गठन गरियो (स्रोतः २०२३ साल असार २८ गतेको गोरखापत्र) । त्यो बैठकले दुवै पत्रकार संघ विघटन गर्ने निर्णय गर्यो । अस्थायी समिति गठन भयो र त्यसका सदस्यमा पशुपतिदेव पाण्डे, फत्यबहादुर सिंह, चन्द्रलाल झा, गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित, मणिराज उपाध्याय र गोपालप्रसाद भट्टराई रहे । गोपालप्रसाद भट्टराई गोरखापत्रका सम्पादक थिए र उनी कृष्णप्रसाद भट्टराईका दाइ थिए ।
सोही वर्षको साउन १५ गते भएको पहिलो सम्मेलन (अधिवेशन)बाट नेपाल पत्रकार सङ्घको सभापतिमा पशुपतिदेव पाण्डे निर्वाचित भए ।

२०२५ साल वैशाख ७ गते नेपाल पत्रकार सङ्घको दोस्रो सम्मेलनको आयोजना गरियो । त्यो बेला पत्रकारको न्यूनतम वेतन निर्धारण गर्न माग गरियो । भोलिपल्ट निर्वाचन हुँदा मणिन्द्रराज श्रेष्ठ नेपाल पत्रकार सङ्घको सभापतिमा विजयी भए ।
२०२६ साल वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपाल पत्रकार सङ्घको तेस्रो अधिवेशन उद्घाटन गरे । भोलिपल्ट मणिन्द्रराज श्रेष्ठ पुनः निर्वाचित भए । सीताराम भण्डारी र इन्दुकान्त शर्माले पनि उम्मेदवारी दिएको तर निर्वाचित समितिले मनोनयनपत्र अनियमित ठहर्याएपछि श्रेष्ठ निर्विरोध भएका थिए । त्यो बेला कृष्णप्रसाद भट्टराई जेलमा हुनुपर्छ । चैत १३ गते सरकारले कृष्णप्रसादलाई जेलबाट रिहा गर्ने निर्णय गरेको थियो (स्रोतः २०२६ चैत १४ गतेको गोरखापत्र) । २०२८ साल असारमा नेपाल पत्रकार सङ्घको पदावधि एक वर्षबाट दुई वर्ष गरियो ।

५) मुलुकमा प्रजातन्त्र प्राप्तिपछि सङ्घलाई विस्तार गरी महासङ्घ बनाइयो । सङ्घकै निरन्तरता महासङ्घलाई दिइयो ।

६) अब प्रश्न यत्ति हो– इतिहासदेखि स्वीकार्ने वा एकीकरणदेखि ? कि २०२३ साललाई स्थापना मिति मान्नुपर्छ । त्यो वर्ष दुईवटै सङ्घ गाभिए (मर्ज भए) । मर्ज भएको मितिलाई मान्नु पर्छ वा पहिलो सम्मेलनलाई मान्नुपर्छ । त्यो मान्दा संस्थापक पशुपतिदेव पाण्डेलाई स्वीकार्नुपर्छ । होइन त्यो मितिलाई स्वीकार्न सकिन्न भन्ने हो भने बीचको अर्थात् २०१२ सालको सङ्घलाई कुनै पनि आधारले संस्थापकका रुपमा मान्न सकिने आधार देखिएन । त्यो त सतही कुरा भयो । बचकाना कुरा भयो । इतिहास प्रारम्भ बिन्दुबाट मान्नुपर्छ । तसर्थ २००८ सालको इतिहासलाई स्वीकार गर्न भङ्गेराको जत्रो छाती बनाइरहनु जरुरी छैन । अझै पनि खोजौँ । नेपाल पत्रकार महासङ्घका नेताहरुको काम खोज अनुसन्धान गर्ने पनि होला नि । त्यतितिर पनि दिमाग चलाउँदा हुन्थ्यो ।

र, ७) आज सार्वजनिक हुँदै गरेको पुस्तकले गलत कुरा स्थापित गर्न खोज्दैछ । गलत इतिहास लेख्नु पनि हुन्न, पढ्नु पनि हुन्न । त्यो अपराध हो । तसर्थ आज प्रकाशित हुने भनिएको पुस्तक किनेर लगानी खेर नफालौँ । सक्नुहुन्छ भने जलाऔँ वा च्यातिदिनू । जसले गर्दा भावी पुस्ता पत्रकारले गलत इतिहास पढ्नु नपरोस् । धन्यबाद

(लेखक अधिकारी पत्रकार हुन । उनलाई फेसबुकमा भेट्न सकिन्छ)

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ११:३३