२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नयाँ जग्गा दर्ता गर्न चाहनेका लागि सरकारले दियो दुई वर्षको समय


११ माघ, काठमाडाैँ । सरकारले जग्गा दर्ता खुला गरिदिएको छ । विगतमा पनि नक्कली भोगचलन तयार गरी नापी भएको तर दर्ता नभएको भन्दै जग्गा दर्ता गर्ने काम हुँदै आएको थियो । यद्यपी पछिल्लो नाै वर्ष यता त्यस्तो काम रोकिएको थियो । फेरि वर्तमान सरकारले जग्गाको छुट दर्ताका नाममा दर्ता खोलिदिएको छ ।

मालपोत नियमावली २०३६ को नियम ४ कको उपनियम १ को प्रयोजनका लागि नापजाँच ऐन २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका दर्ता गर्न चाहने नागरिकका लागि यो व्यवस्था खुला गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जनाएका छन । सरकारको यो निर्णय माघ ११ को राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयले यसअघि नै निवेदन दिएर काम नभएकाहरूको काम पनि दुई वर्षभित्र गर्ने गरी कानुनमा संशोधन गरेको छ ।

सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको हो । मन्त्रालय स्रोतले भने २०२२ सालअघि आफ्नो हकभोग रहेको र जोताहाको निस्सा भएका जग्गाधनीहरुले छुट भएको जग्गा दर्ता गर्न पाउने बताएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १८:२१