१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्यानिटरी प्याडमा भ्रष्टाचारः पत्रकार महासंघकी केन्द्रीय सदस्यसहित पाँचविरुद्ध मुद्दा


११ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याडमा भ्रष्टाचार गर्ने नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य समेत रहेकी ललिताकुमारी साहसहित पाँच विरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । गोरखापत्र दैनिकको संवाददाता समेत रहेकी ललिताले श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका नाममा स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ । आयोगले मतियारको रूपमा ललिताविरूद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले ललिताका विरूद्धमा ८ लाख ७४ हजार ३ रूपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको छ । ललिलताकै योजनामा सप्तरीको रूपनी गाउँपालिकाले ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेको आयोगको ठहर छ । ललिता नेपाली कांग्रेसको शुभेच्छुक संगठन प्रेस युनियन नेपालकी नेता समेत हुन ।

आयोगले ललितासँगै रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध पनि बिगो र अन्य साजय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकाले खरिद गर्दा भ्रष्टाचार भएको हो ।

यस्तो छ मुद्दाको विवरण

जिल्ला सप्तरी, रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रुपनी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, सप्तरीलाई आ.व. २०७७/०७८ मा नेपाल सरकार स:शर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएकोमा गाउँपालिकाले स्यानिटरी प्याड खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ बमोजिम मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रुपमा लिई गर्नुपर्नेमा प्रचलित कानूनी व्यवस्थाको पालना नगरी जिल्ला सप्तरी, रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोश्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहसमेतको मिलेमतोमा लागत अनुमान नै तयार नगरी नगराई रु.९,११,९२५।–(नौ लाख एघार हजार नौ सय पच्चीस) रकम पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रा.लि., मोरङद्वारा उत्पादित Safety sanitary pads always clean 8 always clean 240mm लेखिएको स्यानिटरी प्याडलाई रु.१७,८५,९२८।–(सत्र लाख पचासी हजार नौ सय अठ्ठाइस रुपैयाँ) मा खरिद बिक्री गरी गराई रु.८,७४,००३।- बराबरको रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरी/भुक्तानी लिई दिई आफूहरुलाई लाभ पुर्‍याउने र गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याउने बद्‌नियतले प्रोप्राइटर ललिता कुमारी साहलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा निजहरु अरविन्द कुमार चौधरी, श्याम सुन्दर यादव, श्याम प्रसाद यादव र सुजन दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिमको कसुरमा बिगो रु.८,७४,००३।– (आठ लाख चौहत्तर हजार तीन रुपैँया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

साथै निज ललिता कुमारी साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) वमोजिम सोही ऐनको दफा २२ वमोजिमको मतियारको कसुरमा मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिमको कसुरमा बिगो रु.८,७४,००३।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी निज ललिता कुमारी साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारहरुलाई हुने सजाय सरह सजाय गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १९:५०